Swornakshar Logo

गगन थापाले मागे प्रधानमन्त्री ओलीको राजीनामा

१३ फागुन । काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गरे ।

प्रतिनिधिसभामा बोल्दै थापाले भने, संख्या तपाइँसँग होला तर शासन गर्ने वैधानिक योग्यता क्षमता तपाइँले गुमाउनु भएको छ । त्यसैले सम्माननिय प्रधानमन्त्रीज्यू नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाइँ स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।

प्रधानमन्त्रीले अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघिनै निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको अडियो सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न गरे ।

प्रधानमन्त्रीले डाडाँकाडा र तालतलैया डुलेर बस्नुभन्दा संसदमा आएर आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने थापाले बताए । उनले भने, संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् ?,

उनले भने, हिम्मत छ की छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनैपर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ्य राख्नै पर्छ । सम्मानीय प्रधानमन्त्री डाँडाकाडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन, सही प्रश्नहरु सोध्नेछौँ ।

अडियो डेढ महिना अगाडि सुनेको विषयमा प्रधानमन्त्रीले जे भनेपनि उनका आसोपासेहरुले थाहा थिएन भनेर जवाफ दिइरहेको थापाले बताए । उनले भने, प्रधानमन्त्रीले के भन्नुहुन्छ मलाई थाहा छैन । तर उहाँका आसेपासेहरुले केही दिनदेखि भनिरहनुभएको छ उहाँलाई थाहा थिएन ।

प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीका भनाइका आधारमा काभ्रेले अहिलेसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीकोे प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने ? हामीले पत्याउने नै हो भने हाम्रो प्रधानमन्त्रीलाई प्रश्न रहन्छ । यी सबैकुरा तपाइँलाई थाहा छैन भने प्रधानमन्त्री जी तपाइँलाई के थाहा छ ? प्रधानमन्त्रीजी तपाईलाई थाहा छ नागरिकहरु के भन्दैछन् ।

थापाले सेक्युरिटी प्रेसको ठेक्का मात्रै नभएर सामुदायिक विद्यालयमा कम्प्युटर ल्याव, अप्टिकल फाइबर, फोरजी विस्तार लगायतका ठेक्काका बारेमा पनि प्रश्न उठेको बताए ।

यो सेक्युरिटी प्रेसको ठेक्का मात्रै होइन । स्याटेलाइटको ठेक्का, फोरजी विस्तारको ठेक्का, अप्टिकल फाइबर विस्तारको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, सामूदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने, स्वास्थ्य संस्था वडा इकाई विद्यालय सबै ठाउँमा फ्रि इन्टरनेट सेवा पु¥याउने यी सबै ठेक्काका बारेमा प्रधानमन्त्री ज्यूलाई सबै कुरा थाहा थियो । परिस्थिति नियन्त्रण बाहिर गएपछि अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइएको छ भनेर नागरिकले भनिरहेका छन् तपाइँलाई थाहा छ ? थापाले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीलाई थापाले बालुवाटारमा ऐना छ कि छैन भनेर समेत प्रश्न गरे । पटक पटक भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने प्रधानमन्त्रीलाई जनताले प्रश्न गर्दैछन् । प्रधानमन्त्रीजी तपाईले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक पटक दोहो¥याउनु भएको छ । तर नागरिकहरु तपाईलाई प्रश्न गर्दै छन् । बालुवाटारमा ऐना छ की छैन भनेर सोध्दैछन् थापाले भने ।

नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीको विषयमा र भ्रष्टाचारको विषयमा ठूलो स्वरले बोल्न नसकेपनि आफूहरुसँग कानेखुसी गर्दै गुनासो गर्ने गरेको थापाले बताए ।

प्रधानमन्त्रीको जन्मदिनका विषयमा बाहिर टिप्पणी भइरहेको भन्दै थापाले पूर्वराजाहरुको न्यास्रो मेटाउने गरी प्रधामन्त्रीले जन्मदिन मनाएको भन्दै बाहिर प्रश्नहरु उठिरहेको बताए ।

थापाले प्रधानमन्त्री ओलीलाई संसदमा उपस्थित हुनका लागि रुलिङ गर्न पनि आग्रह गरे ।