Swornakshar Logo

प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा अर्को उजुरी

११ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उजुरीकर्ताले प्रधानमन्त्री ओली निवार्तमान मन्त्री बाँस्कोटा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध उजुरी दिएका छन् ।

उजुरीकर्ताले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलग्नहरुलाई कारवाहीका लागि कदम नचालेको भन्दै प्रधानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीका माग गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित चारैजनाविरुद्ध बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले उजुरी दिएका छन् ।

प्रधानमन्त्रीले भ्रष्टाचारको प्रमाण पाएपछि पनि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्नेमा सो प्रमाण लुकाएकाले प्रधानमन्त्री समेत भ्रष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टि हुन्छ’, आइतबार अख्तियारमा दिएको उजुरीमा भनिएको छ ।

यसअघि विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले बाँस्कोटाविरुद्ध आइतबार नै कारवाहीको माग गर्दै उजुरी दिएका थिए ।