Swornakshar Logo

को हुन सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा

८ फागुन । काठमाडौं । बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका एजेण्टसँग ७० करोड रुपैयाँ कमिसन वार्गेनिङ गरेको अडियो सार्वजनिक भएलगत्तै राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र बाँस्कोटा वर्तमान सरकारमा राज्यमन्त्री हुँदै सञ्चारमन्त्री बने र सरकारका प्रवक्ता भए ।

भ्रष्टाचारविरुद्ध आफैँ कडा अभिव्यक्ति दिँदै आएका बाँस्कोटा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक हुँदै गर्दा कञ्चनपुरमा थिए ।

उनको मन्त्री पदको यात्रा भने रोचक छ ।

२ चैत २०७४ का दिन बाँस्कोटा काठमाडौंबाट भक्तपुर जाँदै थिए । तीनकुनेमा पुगेपछि प्रधानमन्त्री कार्यालयबाट फोन आयो, ुमन्त्रीमा नियुक्त हुनुभयो तत्काल शपथका लागि आउनुहोला ।ु

ओलीका विश्वासपात्र बाँस्कोटालाई प्रधानमन्त्री ओली स्वयमले फोन गरेर सोधे, दौरा सुरुवाल लगाएका छौ ? ओलीले यसो भनेपछि मात्र बाँस्कोटाले मन्त्री बन्न लागेको थाहा पाएका थिए ।

तर उनलाई कुन मन्त्रालय दिइँदै छ भन्ने थाहा थिएन । प्रधानमन्त्रीले सोही दिन उनलाई सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनाए ।

राज्यमन्त्री हुँदै १८ जेठ, २०७५ मा मन्त्री बने र सरकारका प्रवक्ता तोकिए ।

मन्त्री बन्दै गर्दा बाटोमा रहेका बाँस्कोटाको पद पनि बाटोमै गएको छ । गोरखापत्रको कार्यालय उद्घाटन गर्न काठमाडौंबाहिर रहेकै बेला अडियो सार्वजनिक भएपछि ुदौरासुरुवाल छ ? भनेर सोधेका प्रधानमन्त्रीले नै उनको राजीनामा मागे ।

विमानस्थलबाट सोझै बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसमक्ष राजीनामा दिए ।

दुई दशकको पत्रकारिता

उनी दुई दशक पत्रकारिता गरेका व्यक्ति हुन् । काभ्रे स्थायी घर भएका बाँस्कोटाले २०३८ सालबाट अनेरास्ववियू पाँचौँबाट राजनीति सुरु गरेका थिए । पञ्चायतविरोधी आन्दोलनमा विद्यार्थी हुँदा नै सक्रिय रुपमा लागेका थिए ।

उनी २०४८ सालमा काभ्रेको अनेरास्ववियुको जिल्ला अध्यक्ष बने । उनी पूर्वएमालेको काभ्रे जिल्लाको पहिला सचिव र पछि अध्यक्ष बने । उनी नेकपाको केन्द्रीय सदस्य हुन । उनी स्कुल विभागमा पनि छन् । विभागको प्रमुख ईश्वर पोखरेल छन् ।

बाँस्कोटा तत्कालीन एमालेनिकट प्रेस चौतारीको संस्थापक पनि हुन् । उनले दृष्टि साप्ताहिक, चेष्टा साप्ताहिक, छलफल साप्ताहिक, रेडियो नेपालको घटना र विचारमा पनि काम गरे । उनी आफैँले सम्बोधन साप्ताहिक सञ्चालन गरे ।

बाँस्कोटा दोस्रो संविधानसभाको निर्वाचनमा काभ्रेबाट पराजित भएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावमा मोर्चाबन्दी भएपछि उनी काभ्रे–२ बाट ५५ हजार ५ सय २६ मत ल्याएर विजयी भएका हुन् ।

अभिव्यक्ति विवाद

बोलीमा एकरुपता नभएका कारण बाँस्कोटा सधैँ विवादमा रहे । सरकारको प्रवक्ता हुँदा पनि उनले बोलीमा परिवर्तन गरेन । उनी ओलीको सबैभन्दा विश्वास पात्र भए पनि बाँस्कोटाले आफ्नो व्यवहार र बोलीमा कुनै परिवर्तन गरेनन् । उनका अभिव्यक्ति सधैँ विवादमा आए । उनले ुसरकारलाई हेप्ने ? भन्दै दिएको अभिव्यक्ति त थेगो नै बनेको छ ।