Swornakshar Logo

राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैनः मन्त्री बाँस्कोटा

८ फागुन । काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् ।

कार्यक्रममा उनले भने ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु, राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ, उनले भने, सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।

सबै जिल्लामा फोरजी परियोजना सञ्चालन

आजै कञ्चनपुरको बेलौरी नगरपालीकामा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका मन्त्री बाँस्कोटाले सरकारले प्रतिबद्धता गरेअनुसार मुलुकका सबै जिल्लामा एक वर्षभित्रै नेपाल टेलिकमको फोर जी परियोजना सञ्चालन भएको बताए ।

उनले नेपाल टेलिकम सरकारको नभई जनताको सम्पत्ति भएको बताए । अन्य प्रतिस्पर्धी दूरसञ्चार प्रदायक कम्पनीजस्तै टेलिकम पनि प्रतिस्पर्धी बन्नुपर्ने हुन्छ, उनले भने, इन्टरनेट डाटा खरिद मूल्यमा देखिएको भिन्नतालाई घटाइने गरी प्रक्रिया अगाडि बढाइएको छ । उनले सेवाग्राहीलाई टेलिकमका सेवा सहुलियत दरमा प्रदान गर्नेगरी सेवा विस्तार भइरहेको बताए ।