Swornakshar Logo

जबर्जस्ती करणी मुद्दामा पूर्वसभामुख महरा अदालतद्वारा निर्दोष ठहर

५ फागुन । काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । महरालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिएको हो ।

बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा अदालतको यो फैसलासँगै छुट्ने भएका छन् ।

महराका पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले बहस गरेका थिए ।

१२ असोज आइतबार राति महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यसको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूमाथि बलात्कार र हातपात गरेको आरोप लगाएकी थिइन् ।

भोलिपल्ट शाहीको अनुहार र जिउमा चोटपटक देखिएको थियो ।

घटना भएको पर्सी पल्ट १४ असोजमा प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो ।

त्यसपछि १९ असोजमा महरालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको करिब एक महिना अर्थात् १८ कात्तिकमा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।