Swornakshar Logo

२० वर्ष जेल बस्नुपर्ने भयोः पूर्वसभामुख महरा

४ फागुन । काठमाडौं । जबर्जस्ती करणी प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा जिल्ला अदालत काठमाडौंले आइतबार हेर्दाहेर्दैमा राखेको छ ।

दुवै पक्षबाट बहस सकिएपछि अन्तिम आदेश आउने पर्खाइमा रहेका महराले आफन्तसँगको कुराकानीका क्रममा ठट्टा गर्दै अदालतबाट फैसला भइसकेको र आफु २० वर्ष जेल बस्नुपर्ने भएको बताएका थिए ।

इजलासको बाहिरपट्टि बरण्डामा बसिरहेका महरालाई आफन्तले के भयो ? भनेर सोधेका थिए । प्रतिउत्तरमा ठट्टा गर्दै महराले भने, फैसला भैसक्यो, अब २० वर्ष जेल बस्नुपर्ने भयो । मेरो विरुद्ध थाहा पाइहाल्नुभएको छ नि ।

हँसिलो अनुहारसहित कालो ज्याकेट र ढाका टोपीमा उपस्थित भएका महराले आफन्त र कानुन व्यवसायीसँग ठट्यौली शैलीमा भने, नछुटे पनि के भयो र डिल्लीबजार कारागार घर जस्तै छँदैछ नि । आज ३ महिना १७ दिन भइसक्यो त ।

जिल्ला अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेकाले अब भोलि मात्र अन्तिम फैसला आउने भएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पनि उच्च अदालत पाटनले एक महिनाभित्रै मुद्दाको टुंगो लगाउन आदेश दिएर जिल्ला अदालतको निर्णयलाई सदर गरेको थियो ।

असोज १९ गते पक्राउ परेका महरा कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए । महरामाथि असोज १२ गते शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो ।

सुरुमा महराले आफुलाई बलात्कारको प्रयास गरेको आरोप लगाएकी शाहीले त्यसपछि भने निरन्तर आरोप अस्वीकार गर्दै आएकी छन् । उनी महरा निर्दोष रहेको भन्दै जिल्ला र उच्च अदालतसमेत पुगेकी थिइन् ।