Bagmati Samachar Logo

जिल्ला दौडाहामा नेकपाका शीर्ष नेताः ओली झापामा, प्रचण्ड नेपालगञ्जमा

४ फागुन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता जिल्ला दौडाहामा निस्केका छन् । जिल्ला दौडाहामा प्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापा पुगेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालगञ्ज गएका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार ओली आइतबार गृहनगर झापाको दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । ओली झापामा रहँदा शिलन्यास र उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको बताइएकोछ ।

आइतबार ओलीले दमक–४ मा रहेको कृष्णमन्दिर– बेलडाँगी सडक उद्घाटन पुल उद्घाटन गर्नेछन् । आइतबारै उनले ईलाम र पाँचथर जोड्ने दमक चिसोपानी–रवि सडकको शिलन्यास र बेलडाँगीमा आयोजीत सभालाई सम्वोधन समेत गर्नेछन् ।

आइतबार दिनभरका कार्यक्रम सकेर उनी आइतबार नै काठमाडौ फर्कने तालिका रहेको ओली सचिवालयका सदस्य रामशरण बजगाईले बताए ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड नेपालगञ्जमा आयोजित सभामा सहभागी हुन बिहानै नेपालगञ्ज पुगेका छन् । प्रचण्डसँगै सचिवालय सदस्य रामबहादुर थापा पनि नेपालगञ्ज गएका छन् ।

नेकपाले पार्टीको विशेष अभियान अन्र्तगत फागुन महिनामा सातै प्रदेशमा प्रशिक्षण र भेला आयोजना गर्दैछ । ति भेला र प्रशिक्षणमा केन्द्रीय नेतृत्व सहभागी हुने नेकपाले बताएको छ । त्यसका लागि सचिवालयका सवै सदस्य खटिने छन् ।