Swornakshar Logo

आफ्नै पार्टीका मन्त्रीलाई नेताको चेतावनीः कालोमोसो दल्छौँ

३ फागुन । काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का एक नेताले प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) धनुषा अध्यक्षमण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुले फेसबुकमा स्टाटस लेख्दै मन्त्री साहलाई कालोमोसो दल्ने चतावनी दिएका हुन् ।

नेता झाले मन्त्री साहलाई हिम्मत भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउनुस्, कालोमोसे दल्छौं । हामी पनि आफ्नो औकात देखाइदिन्छौं भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । ।

धनुषाका अन्य केही युवानेता तथा कार्यकर्ताले पनि मन्त्री साहलाई कालोमोसो दल्ने चेतावनी समाजिक सञ्जालमा लेखेका छन् ।

नेता झाले मन्त्री साहलाई पदबाट हटाउन पार्टी नेतृत्वसँग आग्रह समेत गरेका छन् । यस विषयमा आज पार्टीका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने र नहटाएसम्म संघर्षको कार्यक्रम गर्ने उनले बताए ।

मन्त्री साहले आफूसँग दुर्व्यवहार गरेको नेता झाले आरोप लगाएका छन् । मन्त्री साह पनि राजपाकै नेता हुन् ।

राजपाका प्रदेश सांसद जानकीशरण साहसँगै नेता झा शुक्रबार दिउँसो मन्त्री साहसँग भेटघाट गर्न मन्त्रालय पुगेका थिए । मन्त्री र मन्त्रालय अपारदर्शी भएको, भ्रष्टाचार बढेको जनगुनासोबारे चासो राखेपछि मन्त्री साहले आफूमाथि दुर्व्यवहार गरेको झाले बताए ।

तपाई आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएर किन बजेट विनियोजन गर्नुहुन्छ ? प्रदेशका सबै जिल्लामा समानुपातिक ढंगले बजेट विनियोजन किन गर्नुहुन्न ? तपाईको यस्ता कार्यशैलिप्रति प्रदेशका जनता रुष्ट छन्, जनगुनासो बढिरहेको छ, मन्त्रालयहरू पारदर्शी भएनन् । मैले भनेको यति हो, नेता झाले भने, त्यसपछि मन्त्रीले मलाई तपाईंको औकात नै के छ र ? भन्दै अपमानित गरे ।

घटना पश्चात राजपाका धनुषा जिल्ला नेता कार्यकर्ताले मन्त्री साह जनकपुरधामको कुनै कार्यक्रममा सहभागी भए कालोमोसो दल्ने चेतावनी दिएका छन् ।

यसअघि मन्त्री साह पत्रकारलाई जुत्ताले हिर्काउने अभिव्यक्ति दिएर विवादित बनेका थिए । एकदिन मन्त्रालयकै कुर्सीमा बसेर तथानाम गाली गरेको भिडियो सार्वजनिक भएको थियो भने एक कार्यक्रममा मन्त्री साहले मेयरहरूलाई पागल भनेका थिए ।