Swornakshar Logo

साउदीमा मृत्युदण्ड पाएका उमेश यादव १३ वर्षपछि कसरी फर्किए त नेपाल ?

८ माघ । काठमाडौं । सन् २००७ मा धनुषाका उमेश यादव वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । यादव साउदी गएको केहि महिनामै त्यहाँ एउटा घटना घट्यो, जस्ले गर्दा उनी जेल बस्नु पर्यो ।
उमेशको पाकिस्तानी कामदार मोहम्मद लतिफसँग आपसी विवादपछि झडप भएको र त्यसमा लतिफको मृत्यु भएको थियो ।

आर्थिक लेनदेन विवादपछि उमेश यादवले लतिफ सुतिरहेको अवस्थामा रड हानेर हत्या गरेको त्यहाँको अदालतले फैसला सुनाएको थियो । सो घटनामा उमेशसँगै उनका भाइ दिनेश यादवलाई पनि पक्राउ गरेको थियो । तर उनका भाइ दिनेश भने छ महिनापछि रिहा भएर घर फर्केका थिए ।

दाई उमेशलाई भने जनरल कोर्टले सन् २०७३ चैत २ मा उमेश यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा हान्ने र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । तर, जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले त्यहाँको पुनरावेदन अदालतमा रिट दायर गरेको थियो । सोही पुनरावेदन अदालतले उमेशलाई २०७५ वैशाख २ गते मृत्युदण्ड दिने फैसला गरेको थियो ।

सोही मृत्युदण्डको समाचार थाहा पाएर अभियन्ता सरोजले उनको ज्यान जोगाउन पहल थाले र उनको पहल सफलमा परिणत पनि भएको छ ।

हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका उमेश अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएर उनी बुधबार नेपाल फर्किएका हुन् ।

नेपाल फर्केका उमेशले सरोजजीको प्रयासले आफुले नयाँ जीवन पाएको बताए । सरोजजीलाई जति धन्यवाद दिए पनि कम हुने उनले बताए । नेपाल फर्किने आशा नै मारिसकेको थिएँ । फर्केर परिवार, छोरा छोरी, श्रीमतीसँग भेट्न पाउँछु भन्ने कल्पना समेत थिएन । तर सरोजजीको प्रयासले मैले गुमाएको चिज पाएँ उनले भने ।

आफूलाई छुटाउन नेपाल सरकारबाट पहल नभएको उनले गुनासो गरे । तर, उमेश यादवलाई बचाउनकै लागि सरोज राय तीन पटक पाकिस्तान र एकपटक साउदी अरब गएका थिए । यस्तै नेपालस्थित पाकिस्तानी दुतावास, परराष्ट्र मन्त्रालयमा कयौपटक उनी धाएका थिए ।

मृतक लतिफका परिवारले माफी दिए उमेशलाई बचाउन सकिन्छ भने कुरा थाहा पाएपछि सरोज राय लतिफको परिवारलाई भेट्न पाकिस्तान पुगेका थिए ।

मृत्युदण्ड सुनाइएपनि ब्लडमनी तिरेपछि पीडित पाकिस्तानीका परिवार उमेशलाई आममाफी दिन तयार भएका हुन् । पीडित परिवार आममाफी दिन तयार भएकाले पनि आफूले नयाँ जीवन पाएको भन्दै उमेशले उनीहरुलाई पनि धन्यावाद दिए । यो सबै मिलाउन अथक पहल परोज रायले गरेका थिए ।

सरोजले नेपालमा परराष्ट्र र श्रम रोजगार मन्त्रालय गएर कुरा राखेका थिए । काठमाडौंस्थित पाकिस्तानी दूतावास पनि पटक पटक पुगेका थिए । साउदीका नेपाली राजदूत, पूर्वराजदूत, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका नेतालगायत सम्बन्धित धेरै पक्षलाई पनि उनले त्यतिबेला भेटेका थिए ।

सोही क्रममा उनी पहिलो पटक २०७५ वैशाख ९ गते नेपालबाट पाकिस्तानका लागि उडेका थिए । अनि पाकिस्तानको कराँची पुगेका थिए । त्यहाँ गएर उनले लतिफका परिवारलाई भेट्नुको साथै कानुन प्रकृया पनि शुरु गरेका थिए । पिडित परिवार पनि उमेशलाई माफी दिन राजी भएका थिए ।

त्यसका लागी ३० लाख ब्लडमनी दिनुपर्ने थियो । जसअनुसार सहयोग संकलन गरी पीडित परिवारलाई साउदीस्थित नेपाली दूतावासमार्फत ब्लडमनी बुझाइयो । अन्ततः सरोजले थालेको पहलमा उमेश यादव रिहा भएर नेपाल फर्कन सफल भए ।

पाकिस्तानी परिवारलाई भेटेर उनीहरुलाई कन्भीन्स गर्ने काम सरोजजीले गर्नुभएको थियो, उहाँ मेरो लागि भगवान नै हुनुहुन्छ’, उनले भने, जेलमा हुँदा म र मेरो परिवारले धेरै ठूलो पीडाको सामना गर्नुपरेको थियो ।