Swornakshar Logo

बेलडाँडीमा वन मन्त्री तथा खानेपानी मन्त्रीबाट शुक्लाफाँटा प्रवेशद्वार शिलान्यास

४ माघ । कञ्चनपुर । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) भित्र पर्यटकहरुलाई जंगल सफारी गराउने उद्देश्यले शनिबार प्रवेशद्वारको शिलान्यास गरिएको छ ।
वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री बिना मगरले संयुक्त रूपमा शुक्लाफाँटा निकुञ्ज दोस्रो प्रवेश द्वारको शिलान्यास गर्नु भएको हो । बेलडाँडी गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरि शनिबार दुवै मन्त्रीबाट उक्त प्रवेश द्वारको शिलान्यास गराएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वन मन्त्री बस्नेतले शुक्लाफाँटा निकुञ्जलाई सरकारले खुला चिडियाखानाका रूपमा विकास गर्ने लक्ष्य राखेको बताए । उनले शुक्लाफाँटा निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकहरु बढाउन सरकारले पूर्वाधारको विकास गर्न लागिरहेको जानकारी दिए । ” आरक्ष क्षेत्र हिजोका दिनमा समस्याका रूपमा देखा परेको थियोे तर अब यो क्षेत्र आयस्रोत आर्जन गर्ने अवसर भएको छ, उनले भने “आरक्ष क्षेत्रबाट प्रताडित हुनुपर्ने दिन अब आउँदैन । यसलाई आर्थिक रुपान्तरणको माध्यम बनाउनुस । यहाँ होम स्टे चलाउनुस अनि युवाहरूलाई नेचर गाइडको तालिम दिने व्यवस्था गर्नुस् । ”
त्यस्तै कार्यक्रममा खानेपानी मन्त्री मगरले शुक्लाफाँटा निकुञ्ज क्षेत्र आर्थिक समृद्धिको आधार बन्दै गएको बताइन् । उनले यस क्षेत्रका जनताले अब आरक्षबाट राम्रो आम्दानी गर्ने अवसर प्राप्त गरेको धारणा राख्नुभयो । ” हिजो यहाँका जनताले जंगली जनावरबाट दुस्ख पाएका थिए तर अब सरकारले समस्याको समाधान खोज्दैछ, उनले थप जोड दिदै भनिन, “आरक्ष क्षेत्र आयस्रोतको मुख्य केन्द्र बन्दै छ । यसलाई समृद्धि संग जोडेर हेर्नुपर्ने बेला आएको छ ।”

उनले यस क्षेत्रका जनताले माग गरिरहेका खानेपानी, सडक, ढल लगायत अन्य समस्याहरुलाई क्रमशः समाधान गर्दै लैजान पहल भैरहेको बताइन।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले यस क्षेत्रका समस्याहरुबारे दुबै मन्त्री समक्ष ध्यानाकर्षण गराए ।
नेपाल भ्रमण वर्ष सुरु भैसकेकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढाउने गाउँपालिकाको उद्देश्य रहेको छ । अहिले एउटा मात्र प्रवेश द्वारबाट निकुञ्जमा जंगल सफारी हुने गरेकोमा अब अर्को प्रवेश द्वार खुला भए पछि पर्यटकहरु बढ्ने विश्वास गरिएको छ ।

निकुञ्जमा जंगल सफारी गराउन दोस्रो प्रवेशद्वार खोल्न खानेपानी मन्त्री मगरले विशेष भूमिका खेल्नु भएको थियो ।