Swornakshar Logo

भूमि व्यवस्था मन्त्री अर्यालद्वारा कञ्चनपुरको बाघफाँटास्थित नमुना हलिया वस्ती हस्तान्तरण

४ माघ । कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाको हलिया वस्ती हस्तान्तरण गरिएको छ । हलिया वस्तीका जेष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरको रिबन काटि घरको तालाचाबी खोलेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वस्तीको हस्तान्तरण गरेको घोषणा गरेकी छिन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्तर्गत निर्माण गरिएको नमुना वस्ती एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । एकीकृत वस्ती नै निर्माण गरेर हलिया वस्ती औपचारिक रुपमा सरकारले हस्तान्तरण गरेको यो पहिलो हो ।
त्यस अवसरमा वस्ती हस्तान्तरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कोही पनि भूमिहिन, सुकुम्बासी नहुने अभियानमा सरकार अगाडी बढेको बताइन।
हलियाको तथ्यांक संकलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुर्नपहिचान गरेको र अझैपनि छुट्न गएकालाई सम्बोधन गरिने बताइन मन्त्री अर्यालले भनिन्,ु पहिचान भएकालाई पहिला व्यवस्थापन गरौं । बाँकी छुट रहेकालाई पनि सरकारले कुनै न कुनै ढंगले सम्बोधन गर्छ ।
सरकारले पुर्नस्थापना गरिसकेपछि आम नागरिक सरह भएको भन्दै उहाँले अब सधैं हलिया भएर बसिरहन नहुने बताइन। आफैले गर्नसक्ने कामहरू आफैले गर्नुपर्ने भन्दै उनले कुनै न कुनै जिविकोपार्जनका काममा लाग्न आग्रह गर्नुभयो ।


समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्न उत्पादनमा लाग्नैपर्ने भन्दै मन्त्री अर्यालले अब सरकारले गरिबको विशेष सूचिमा राखेर गरिब लक्षित कार्यक्रम सञ्चालन गरी गरिबी निवारणको काम गर्ने बताइन ।
अब कोही पनि भूमिहिन र सुकुम्बासी नहुने अभियानमा सरकार लागेको भन्दै देशभरका भूमिहिन र सुकुम्बासीको समस्या यही सरकारले समाधान गर्ने बताइन्।
यसैगरी मन्त्री अर्यालले सरकारले हलियाका नाममा दिएको जग्गा र घर प्रयोगमा नआएमा जो छुटेको छ उसैलाई दिनुपर्ने बताइन । जसको जग्गा हो उसैले कमाउनुपर्छ । घरको पनि अरू गएर बस्न पाउदैन । सरकारले दिएको जग्गा र घर प्रयोगमा नआएमा जो छुटेको छ उसैलाई दिनुपर्छु, मन्त्री अर्यालले भनिन् ।
राज्यले दिने सहुलियत दिँदा महिला र पुरुष दुवैको स्वामित्व स्थापित हुनेगरी दिइएको भन्दै उनले सुकुम्बासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने बताइन ।
सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर लामो समयसम्म पुर्नस्थापना हुन सकेको थिएन । साविक सुदुरपश्चिम क्षेत्रका ९ जिल्ला र मध्यपश्चिम क्षेत्रका ३ जिल्लाका १८ हजार नौ सय ५३ हलिया परिवारको पुर्नस्थापना घोषणा गरिएको थियो ।


गत वर्ष कञ्चनपुरमा मात्र १७ सय ८५ परिवारको हलियाको पुर्नस्थापना गरिएको थियो । पुर्नस्थापना हुन बाँकी हलियालाई पुर्नस्थापनाका लागि स्थानीय तहमा बजेट पठाइको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए ।
सरकारले बागफाँटा वस्तीमा मुक्त हलिया पुर्नस्थापनाका लागि ३२ वटा ३ कोठाको घर निर्माण गरेको हो । सँगै शौचालय, २० फुटको बाटो वरिपरी नाला सहित वस्ती निर्माण गरेको छ । बाटोको दुवैतर्फ घर निर्माण गरिएको छ ।


प्रतिघर ३ लाख लागत लागेको छ । जसमा नेपाल सरकारको २ लाख २५ हजार र बाँकी रकम ह्याबिटेट फर ह्युमानिटी नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ । ह्याबिटेटले प्राविधिक सहयोग र अपुग रकम सहयोग गरेको हो भने भिमदत्त नगरपालिकाले नाला निर्माण र खानेपानी लगायतमा सहयोग गरेको हो । १० धुर जग्गा सहित प्रतिपरिवार ४ लाख २५ हजार जम्मा लगानी लागेको छ ।
कञ्चनपुर जिल्लामा मात्र २७ सय परिवार मुक्त हलिया रहेकोमा सूची संशोधन हुँदा २ हजार ५ सय पहिचान भएको थियो । जसमध्ये १ हजार ७ सय ८५ को गत वर्ष पुनर्स्थापना गरिएको थियो भने १०६ परिवालाई हस्तान्तरण गरिएको थियो ।