Swornakshar Logo

विश्वकै सबैभन्दा होचा कीर्तिमानी खगेन्द्र थापामगरको निधन

३ माघ । काठमाडौं । विश्वका सबैभन्दा होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

उनको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएको थियो । भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । अस्पताल भर्ना गरे लगत्तै थापालाई अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको ,खगेन्द्र थापा मगर प्रतिष्ठान’ का अध्यक्ष मीनबहादुर रानामगरले बताए ।

थापामगरको निधन मुटु, निमोनिया र दम रोगको कारण भएको चिकित्सकले बताएका छन् ।

बाग्लुङ धुल्लुवासकोट–६ का थापामगरले २८ असोज, २०६७ मा विश्वकै होचा व्यक्तिको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल भएका थिए ।

जन्मदा खगेन्द्र ६०० ग्रामका मात्र थिए, अहिले उनको वजन ५.५ किलोग्राम थियो । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च अग्ला थापामगरलाई वर्ल्ड रेकर्ड टोलीले परीक्षणपश्चात् विश्वकै होचो व्यक्तिको उपाधि दिएको थियो ।

उनको जन्म १८ असोज २०४९ मा भएको थियो ।