Swornakshar Logo

माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा बम विष्फोट

२६ पुस । काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा शुक्रबार राति बम विष्फोट भएको छ ।
अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ खैरीटाकुरामा राति करीब १० बजे अज्ञात समूहले बम विष्फोट गराएको स्थानीयले बताएका छन् ।

बम विष्फोटपछि सो समूहले नाराबाजी गरेको हुँदा बम विष्फोट गराउने नेकपा विप्लव नेतृत्वको समूह हुनसक्ने स्थानीयले आशंका गरेका छन् । विप्लव समूहका अछाम जिल्ला सेक्रेटरी भरत साउदले बम विष्फोट आफ्नो पार्टीले गरेको स्वीकार गरेका छन् । राति आयोजना प्रभावित क्षेत्रमा बम विष्फोटसँगै नाराबाजी भएपछि त्यस क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पबाट घटनास्थलमा रातिदेखि नै सशस्त्र प्रहरीहरू परिचालित भएको स्थानीयले जानकारी दिए । बम विष्फोटबारे आधिकारिक जानकारी प्राप्त नभएको र अछाम क्षेत्रमा भएको बारे बुझिरहेको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

कर्णाली प्रदेशको बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना बन्ने सुनिश्चित भएपछि स्थानीय उत्साहित बनेका बेला बम विष्फोटले जनजीवन असामान्य बनेको छ ।

बंगलादेश सरकारले उत्पादित ५०० मेगावाट बिजुली २५ वर्षसम्म किन्ने प्रस्ताव अनुमोदन गरेसँगै आयोजनाको २०२० देखि काम अघि बढ्ने हुँदा स्थानीयबासी हर्षित भएका थिए ।

उत्पादित बिजुली बंगलादेश पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७ सेन्ट अर्थात झन्डै ८ रुपैयाँ ८० पैसामा किन्ने सहमति जनाएपछि आयोजना निर्माणको जिम्मा पाएको भारतीय जीएमआर कम्पनीलाई निर्माणका लागि बाटो खुलेको थियो ।