Swornakshar Logo

दुर्घटनामा ज्यान गएपछि डडेल्धुरा तनावग्रस्त बन्यो

९ पुस । काठमाडौं । डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार महेन्द्रनगरबाट बझाङतर्फ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायलतर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए ।

मृत्यु हुनेमा अमरगढी नगरपालिका–११, सल्लाघारीका २० वर्षीय भरत बोहरा रहेका छन् । मंगलबार अमरगढी नगरपालिका–१, लिसा कम्पनी नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए ।

बोहराको मृत्यु पछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै आफन्तहरूले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध पारेर सडकमा टायर बालेर आन्दोलन चर्काएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाएका बोहराको शव डडेल्धुरा अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ । क्षतिपूर्ति दिने सहमति नभएपछि मृतकको शवको पोष्टमार्टम पनि हुन सकेको छैन ।

महाकाली यातायात समितिका आधिकारिक व्यक्तिसँग उचित क्षतिपूर्तिको माग राख्दै आफन्तले भीमदत्त राजमार्गको अमरगढी नगरपालिका–१, स्याउले बजार र डा. केआई सिंह राजमार्गको अमरगढी नगरपालिका–१० को राईमा सडक अवरुद्ध पारेका हुन् ।

दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३, सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए । राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात ठप्प भएको छ ।

प्रहरी नायव उपरीक्षक दधिराम न्यापानेले चालक र सवारीधनीलाई मंलबार नै नियन्त्रणमा लिएको बताए ।