कलाकार आनन्द थापाको आजै अन्त्येष्टि, अधुरो त्यो उनको सपना

२ पुस । काठमाडौं । स्वर्गीय कलाकार आनन्द थापाको बुधबार मध्यान्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार साँझ ७ः३० मा भक्तपुरको झौखलेमा थापाको निधन भएको थियो । उनलाई छोराहरु जय र शंकर थापाले दागबत्ती दिए । विगत दुई वर्षदेखि प्यारालाइसबाट थलिएका थापाको ८० वर्षको उमेरमा निधन भएको हो । थापाको श्रीमती र ३ छोरा रहेका छन् ।
थापालाई श्रद्धाञ्जली दिन कलाकार दीपक राज गिरी, दीपाश्री निरौला, दिनेश डिसी, लय संग्रौला, उत्तम केसी, रेजिना उप्रेती, अशोक शर्मा, दयाराम दाहाल, प्रदीप उदय, सुवास गजुरेल, गीता नेपाल, पुस्कर लामा, बिमला केसी लगायतका कलाकार र शुभेच्छुक पुगेका थिए ।
थापाको त्यो सपनाः
आनन्द थापा नेपाली कलाक्षेत्रका वरिष्ठ कलाकार हुन् । उनी रंगमञ्च, टेलिचलचित्र र चलचित्र अभिनय र हास्यकलाकारको रुपमा परिचित थिए ।
थापाले कुमारी, कान्छी, मायाप्रिती, अचानक, राज, प्लान, वरदानलगायत दर्जनौँ चलचित्रमा अभिनय गरेका गरेका छन् ।
गाईजात्रा महोत्सवमा हास्यब्यङ्ग्य प्रस्तुति समेत दिने थापाले केही नाटक तथा टेलिफिल्म लेखन निर्देशन पनि गरेका छन् ।
थापा कलाकार मात्र नभइ गायक पनि हुन् । उनले गाएको ‘मेरो दश रुपैयाँ किलोमा आलु बिकेन’ प्यारोडी गीत एक समय निकै चर्चामा थियो । थापाले केही म्युजिक भिडियो समेत अभिनय गरेका छन् ।
थापाले पछिल्लो समय कमेडी सिरियल ‘घ्याम्पो भित्रको खिचडी’ आफ्नै अभिनय, लेखन र निर्देशनमा तयार पारेका थिए । जसको नेपाल टेलिभिजनबाट प्रसारण गराउने उनको सपना थियो ।
प्रसारणको तयारी गर्दा नेपाल टेलिभिजन र त्यहाँको कर्मचारीको धेरै चक्कर लगाएका उनी अन्ततः सिरियल थन्काएर बस्न बाध्य भए । सोको प्रशासणका लागि प्रयासरत उनको त्यो सपना पूरा नहुँदै निधन हुन पुग्यो ।
प्रतिक्रिया दिनुहोस्: