Swornakshar Logo

सुदेश र प्रदिपले आ आफ्ना रचना हेटौडामा वाचन गरे

२८ मंसिर । काठमाडौं । समकालीन साहित्यका चर्चित कवि सुदेश सत्याल र गजलकार प्रदिप रोदनले हेटौडमा आ आफ्नो प्रस्तुती वाचन गरेका छन् । उनीहरुका वाचन सुन्दा हेटौंडाका स्रोताहरुले वाहवाही भन्दै हुटिङ गरेका थिए ।
कार्यक्रममा सहभागी हेटौंडाका साहित्यकार तथा साहित्यानुरागीहरुले दुबै कवि र गजलकारलाई वाहवाही र वान्स मोर भन्दै अन्य रचना सुनाउन आग्रह गरेपछि आयोजकले दुबैलाई थप समय दिएका हुन् । कार्यक्रममा सत्याल र रोदनले आफ्ना केही नयाँ तथा केही पुराना रचना वाचन गरका थिए ।

झरना साहित्यिक परिवार मकवानपुरले २४५औं साहित्य श्रृङ्खला अन्तर्गत दुई कवि तथा गजलकारलाई प्रस्तुत गरेकोमा साहित्यप्रेमी मकवानपुरेले राम्रो अवसर पाएको साहित्यकार तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए ।

सत्याल र रोदनलाई अहिलेको पुस्ताका गन्तीमा आउने सर्जकको संज्ञा दिँदै साहित्यकार निखिलले आफू पनि दुई स्रष्टाबाट प्रभावित भएको उल्लेख गरे । झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतमले दर्शकको प्रतिक्रिया र स्रष्टाको प्रस्तुतीका कारण कार्यक्रमबाट आफूलाई सन्तुष्टी मिलेको बताए ।

कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार आर.आर. चौलागाईंले दुबै सर्जकका सृजना र प्रस्तुतीले आफूलाई मन्त्रमुग्ध बनाएको बताए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा जिल्लाका विभिन्न साहित्यिक संघ, संस्था, साहित्यकार तथा साहित्यानुरागीहरु सहभागी थिए ।