Swornakshar Logo

कांग्रेसले औंल्यायो सरकारका २१ महिनाका २१ असफलता

३ ममंसिर । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको दुई–तिहाइ बहुमतको सरकार गठन भएको २१ महिनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २१ बुँदे आरोप लगाउँदै सरकार असफल भएको दाबी गरेको छ ।
आगामी १४ मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा हुन गइरहेको उपनिर्वाचन लक्षित गरी चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसले २१ बुँदामा सरकार असफल हुनुका कारणहरू उल्लेख गरेको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वारले जितेर सरकार बदल्न नसके पनि सरकारको खराब आचरण र शैली बदल्न सक्ने दाबी गरे ।
‘सत्तारुढ दलका कार्यकर्तालाई अरिङ्गाल भएर जाइलाग्ने आदेश दिएर नवमण्डले शैली अपनाइएको छ,’ सत्तारुढ दल नेकपामा अधिनायकवादको आकांक्षा देखिएको आरोप लगाउँदै प्रवक्ता शर्माले भने, ‘नेकपाको अधिनायकवादी आकांक्षा कांग्रेसका कारण सम्भव भएको छैन ।’

कांग्रेसले सत्तारुढ नेकपालाई राष्ट्रियताको प्रश्नमा कालापानी भूमी फिर्ता गर्न परिणाममुखी राष्ट्रवाद प्रस्तुत गर्न नसकेको, संविधान संशोधनमार्फत संविधानप्रति अपनत्वको दायरा विस्तार गर्न नसकेको आरोप लगाएको छ । यस्तै, तत्कालिन एमालेको बहुदलीय जनवाद र माओवादीको २१औं शताब्दीको जनवाद ‘फ्युजन’ गर्ने नाममा ‘कन्फ्युजन’ सिर्जना गरी सरकार सञ्चालनमा असफल भएको दाबी गरेको छ ।

‘संघीयताको बाँकी कार्यभार पूरा गर्न प्रदेशको नामकरण र राजधानी तोक्न नसकेको, कूटनीतिक मामिलामा अपरिपक्वता देखाएको, विप्लव प्रकरण समाधान गर्न नसकेर असफल भएको छ’, घोषणापत्रमा उल्लेख गरिएको छ ।

कांग्रेसले निर्मला पन्तको बलात्कारपछि हत्या, रोल्पा, रुपन्देही र सर्लाहीमा नेकपाकै कार्यकर्ताको हातबाट कांग्रेसका चार युवाले ज्यानै गुमाउँदा पनि दोषीलाई कारबाही गर्न नसकी शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाएको छ ।

‘धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महँगी’ शीर्षकमा कांग्रेसले महँगी नियन्त्रणमा सरकार पूर्णतः असफल भएको, भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मार्दै वाइड बडी भ्रष्टाचार ढाकछोप गरेको, बुढी गण्डकीमा कम्युनिस्ट सरकारले राष्ट्रघात गरेको, मेलम्ची परियोजनामाथि खेलवाड र निजगढ एयरपोर्टको भविष्य अन्योलमा पारेको पनि आरोप छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यको प्रश्न उठाउँदै अनियन्त्रित शुल्क फिर्ता गर्न नसकेको, सरकारको नियतले संवैधानिक परिषद् असफल भएको, शब्दमा प्रेस स्वतन्त्रता तर व्यवहारमा नियन्त्रण भएको र आस्थाका आधारमा सञचारकर्मीलाई निकाल्ने काम भएको आरोपसमेत लगाएका छन् ।

कांग्रेसले धर्मको प्रश्नमा होली वाइन प्रकरण तथा गुठी विधेयक प्रकरणमा जनशक्तिले सत्ता झुकाएको विषय पनि उठान गरेको छ । सामाजिक सुरक्षा कोषको कर्म कांग्रेसले गरे पनि प्रचार नेकपाले गरेको, बालुवाटार काण्डमा नैतिकता लिलाम गरेको भन्दै बालुवाटारको जग्गासमेत फिर्ता गराउन नसक्ने स्थिति बन्नु दुई तिहाइ सरकारको लज्जास्पद घटना भएको आरोप लगाएको छ ।

नेकपा नेतृत्वको सरकार असफल हुनुका २१ कारणलाई बुँदामा उल्लेख गर्दै कांग्रेसले कम्युनिस्ट पार्टी उकालो लाग्दा सेयर बजार ओरालो लागेको, असहिष्णु अभिव्यक्ति अराजनीतिक चरित्र, विपक्षी दलसँग संवादहीनता, निषेधाज्ञा र विरोध गर्नेमाथि जाइलाग्न सत्तारुढ दलले आदेश दिएको आरोप लगाएको छ ।

यसैगरी, सत्ताको आडमा नेताहरूले अरिङ्गाल बन भनी कार्यकर्तालाई दिएको उर्दी, बाँके, तनहुँ र चितवनलगायतका ठाउँमा गरिएको आक्रमणका घटना सत्ताको प्रेरणा र संरक्षणमै भएको आरोप पनि कांग्रेसले लगाएको छ ।

यी हुन् कांग्रेसले औंल्याएका सरकारका २१ असफलतास्

१. राष्ट्रियताको प्रश्नमा असफलता
२. संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता
३. सत्ताको सैद्धान्तिक चरित्र निर्क्योलमा असफलता
४. संघीयताका बाँकी कार्यभार पूरा गर्नमा असफल
५. कूटनीतिक मामिलामा अपरिपक्वता
६. विप्लव प्रकरणः असफलताको फरक पाठ
७. शान्ति सुरक्षा ः निर्मला प्रकरणमा हरायो सरकार
८. मूल्य वृद्धि ः धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महँगी
९. वाइडबडीलगायतका भ्रष्टाचारमा क्रान्तिकारी छलाङ
१०. बूढी गण्डकी स् कम्युनिस्ट सरकारको राष्ट्रघात
११. मेलम्ची परियोजनामाथि खेलबाड
१२. निजगढ एयरपोर्टको भविष्य अन्येल
१३. चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न
१४. सरकारको नियतले असफल संवैधानिक परिषद्
१५. शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण
१६. धर्मको प्रश्नमा होली वाइन प्रकरण
१७. गुठी विधेयक ः जनशक्तिले झुकाएको सत्ता
१८. सामाजिक सुरक्षा कोष कर्म कसैको, प्रचार कसैको
१९. बालुवाटार काण्डमा लिलाम नैतिकता
२०. कम्युनिस्ट पार्टी उकालो लाग, शेयर बजार ओरालो
२१. असहिष्णु अभिव्यक्ति ःअराजनीतिक चरित्र