Swornakshar Logo

उपनिर्वाचन हाम्रो पार्टीका लागि अग्नी परीक्षाः प्रचण्ड

१ मंसिर । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचन आफ्नो पार्टीकोलागि अग्नी परीक्षा भएको बताएका छन् । नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा यो उपचुनाव पार्टीकोलागि अग्नी परीक्षा भएको बताए ।
उनले पार्टी र सरकारको लोकप्रियता बढेको छ भन्ने सावित हुनेगरी उपनिर्वाचनको प्रचार प्रसार अभियानमा खटिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकारको लोकप्रियता घट्यो भन्नेहरुलाई गलत सावित गराउन तथा पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पार्टीको पक्षमा परिमाण आउने गरी उपनिर्वाचन अभियानमा होमिनुपर्ने बेला आएको बताए । ‘यो उपनिर्वाचन सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि हाम्रो पार्टीका लागि अग्नी परीक्षा भएको छ,’ उनले भने, ‘त्यसका लागि फिल्डमै गएर प्रचार अभियानमा तीव्रता दिई पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पार्टीका नेता, कार्यकर्ता डटेर अघि बढनु पर्दछ ।’ उनले उपनिर्वाचनमा सबै क्षेत्रमा विजयी भएर पार्टीले आगामी ३ वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई झनै शक्तिशाली बनाउने आधार तयार पार्नुपर्ने आवश्यक्ता औंल्याए ।

अध्यक्ष दाहालले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाललाई विकास, निर्माण र समृद्धिको विशाल फौजको रुपमा रुपान्तरण गर्न आफूले चाहेको बताए । उनले युवा रोजगारीका विभिन्न कार्यक्रम संचालन गर्न राष्ट्रिय युवा संघ, नेपाललाई निर्देशन दिँदै पार्टीकै नेतृत्वको सरकार रहेको समयमा युवा रोजगारीको अवसर संचालन हुने गरी विभिन्न कार्यक्रम संचालन गरे त्यसमा सरकारले साथ दिने आश्वासन दिएका छन् ।
उनले दुई पार्टीबीचको एकता प्रधानमन्त्री, राष्ट्रपति नभई सिंगो देश र जनताको हितको लागि भएको बताए ।