Swornakshar Logo

विदेश जान लागेका श्रीमानलाई रोकिदिन माग गर्दै निवेदन

२९ कार्तिक । काठमाडौं । थाहै नदिइ वैदेशिक रोजगारीका लागि जान लागेका श्रीमानलाई एयरपोर्टमै रोकिदिन माग गर्दै इटहरी– ५ की २३ वर्षीया दिप्ती सिलवालले श्रम कार्यायल विराटनगरमा निवेदन दिएकी छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ का २४ वर्षीय सर्बेश भनेर चिनिने सचिन दाहाल दुबई जाने तयारीमा छन् ।

सचिन र दिप्तीबीच पाँच वर्षअघि प्रेम विवाह भएको थियो ।
आफू र तीन वर्षका छोराको बिचल्ली बनाएर वैदेशिक रोजगारीमा जान लागेको भन्दै श्रीमानलाई एयरपोर्टमा रोकिदिन आग्रह गर्दै दिप्ती निवेदन दिएकी हुन् ।

परिवारबाट घरेलु हिंसा भएपछि दिप्तीले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएकी थिइन् । प्रहरी कार्यालयले दुबै पक्षलाई मिलापत्र गराएर पठाएको थियो । तर श्रीमान र परिवारले पुन हेला गरेपछि छोरा सहित सात महिनायता माइतमा बस्दै आएकी दिप्तीले बताइन् ।

दिप्ती र सचिनले काठमाडौंको मित्रनगरमा कपडा पसल सञ्चालन गरेका थिए । पसलका लागि माइती पक्षले १२ लाख सहयोग गरेका थिए । तर केही समय चलाएर पसल ३४ लाखमा बिक्री गरेको दिप्तीले बताइन् । ‘पसल बिक्री गरेपछि ऋण तिरेर बाँकी रहेको भन्दै १८ लाख रुपैयाँ मेरो खातामा आयो । पैसा रहुन्जेल उहाँले राम्रै गर्नुभएको थियो तर पैसा सकिएपछि फेरि हेला गर्नुभयो दिप्तीले भनिन् ।

उहाँ विदेश जान लागेको पनि आफन्तबाट थाहा पाएको बताइन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले महिलाले दिएको उजुरीका आधारमा सचिनलाई विमानस्थलमा रोक्न लिखित पत्र पठाएका छन् ।