रौतहट बमकाण्डका घाइते आफू असुरक्षित भन्दै अदालतमा निवेदन
२८ कार्तिक । काठमाडौं । राजपुर बमकाण्डका घाइते गौरीशंकर राम चमारले आफू असुरक्षित भएको भन्दै बिहीबार जिल्ला अदालत गौरमा निवेदन दिएका छन् । चमारले सुरक्षाको माग गर्दै पूर्वमन्त्री मोहम्मद अफताब आलमका मान्छेहरूबाट आफू असुरक्षित भएको भन्दै उनले अदालतमा निवेदन दिएका हुन् ।
विस्फोटमा परेर घाइते भएका चमारको अनुहारको तल्लो भागदेखि छातिसम्म जलेको छ । चमारले उक्त घटना आलमको योजनामा भएको भन्दै केही समय पहिले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
२५ कात्तिकमा उनले बयान फेर्दै मट्टितेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण निवेदनमा लेखेका थिए । बयान फेर्दै बमले नभई स्टोभ पड्केर घाइते भएको निवेदन लिएर जिल्ला अदालत जाँदा पक्राउ परेका थिए ।
प्रहरीले पक्राउ गरेपछि उनले आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगाएको बताएका थिए । उनले आफू स्टोभ पड्किएर नभइ २०६४ सालमा राजपुरको फरहदवामा भएको बम विष्फोटमा परेर घाइते भएको पनि प्रष्ट पारेका छन् ।
फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११४(१) बमोजिम आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाई अबिलम्ब मेरो बकपत्र गराई पाउन सम्मानित अदालतसमक्ष यो निवेदन पेश गरेको छु,’ उनले दिएको निवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्: