हाइप्रोफाइल जुवाडे फेरि पक्राउ, सम्पत्ति छानबिन सुरू
२६ कार्तिक । काठमाडौं । राजधानीको महाराजगन्जबाट पक्राउ परेका २५ हाइप्रोफाइल जुवाडेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने भएको छ । सोमबार साँझ धरौटीमा रिहा भएका २५ जना भीआईपी जुवाडे रिहा भएको केही समयमै पुनः पक्राउ परेका छन् ।
१७ कात्तिकमा महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २ करोड ६७ लाख बरामद गरेको थियो । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई धरौटी मागेर छाड्ने आदेश दिएको थियो ।
उनीहरुलाई सोमबार धरौटीमा रिहा गरेपनि सो लगत्तै प्रहरीले फेरि पक्राउ गरेको हो । तोकेको धरौटी बुझाएर बाहिरिने क्रममा उनीहरु सोमबार साँझ फेरि पक्राउ परेका महानगरीय प्रहरी वृत्त महराजगञ्जका प्रमुख डिएसपी उमेश लम्सालले बताए । पक्राउ परेका २५ जनालाई मंगलबार बिहानै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाइएको लम्सालले बताए ।
जुवाखालमा नै त्यति ठूलो रकम बरामद भएपछि जुवाखालबाट बरामद भएको रकम अकुत सम्पत्ति रहेको हुनसक्ने आशंकामा अनुसन्धान हुन लागेको बताइएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंका रञ्जन राजबंशी, श्यामप्रसाद पराजुली, अशोक श्रेष्ठ, सिताराम खड्का, विक्रम गौतम, राम तामाङ्ग, कृष्ण भण्डारी, सुमन अग्रवाल, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, शम्भु बुढाथोकी, बुद्ध लामा रहेका छन् ।
त्यस्तैगरी, ललितपुरका सोहिल कार्की, दोलखा भीमेश्वरका रामकृष्ण केसी, काभ्रेका इन्द्र श्रेष्ठ, रोशन तामाङ्ग, बलराम सापकोटा, धावा लामा, नवाङ लामा र प्रदीप बोगटी, ओखलढुङ्गाका सुमन गुरुङ्ग, रौतहट चन्द्रनिगापुर– ३ का सोवित सिलवाल, बाराका प्रेमथापा मगर, सिन्धुपाल्चोकका शम्भु शेर्पा पनि पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्: