Swornakshar Logo

धमाधम बयान फेर्दै सरकारी साक्षीः आलम प्रकरण

२५ कार्तिक । काठमाडौं । बम विस्फोटनका घाइतेलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा मोहम्मद अफ्ताव आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । उक्त बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।

गत २०६४ सालमा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विस्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमार बयान फेर्दै अदालत पुगेका थिए । सरकारी साक्षी बनेर अदालतमा उपस्थित भएका चमारले बयान फेरेपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला उनीविरुद्ध बयान दिने भनिएका चमारले बम विस्फोटनबारे आफूलाई कुनै जानकारी नभएको भन्दै उनी अदालतमा पुगेका थिए ।

राजपुरमा भएको बम विस्फोटनमा घाइते भएका चमार सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन् ।

यसअघि विस्फोटनपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी थिइन् ।

२३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेता आलमविरुद्ध बयान दिन पुगेकी अमनाले आलमकै पक्षमा बयान दिएकी थिइन् ।

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पति ओसी अख्तरलाई आलमले जिउँदै इँटा भट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी थिइन् ।

इन्सेक प्रतिवेदन झुटोः केसी

यता पूर्वमन्त्री आलमको बचाउ गर्दै नेपाल बार एसोिसएसनका पूर्वअध्यक्ष अधिवक्ता शेरबहादुर केसीले आलमविरुद्ध इन्सेकले तयार पारेको प्रतिवेदनको कुनै औचित्य नभएको बताएका छन् ।

सोमबार जिल्ला अदालत रौतहटमा आलमको तर्फबाट बहस गर्दै केसीले इन्सेकको प्रतिवेदनमा कुनै आधिकारिकता नभएको बताएका छन् । जिल्ला न्यायाधीश दिपक ढकालको इजालसमा बहस गर्दै केसीले आलमलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको दाबी गरे ।

मृत्यु भएका भनिएकाहरूको लुगा तथा जुत्ता परीक्षण गर्दा रगत नभेटिएको प्रमाण आएको र माटो परीक्षण गर्ने साधन नभएको भन्दै फकाइनुजस्ता तथ्यहीन प्रमाण पेस गरेर आलमलाई सरकारले सास्ती मात्र दिएको उनको दाबी छ ।

सोमबार केसी, सुनिल पोखरेल, योगेन्द्र अधिकारी, गोपाल कृष्ण घिमिरे र भूषण घिमिरे गरी पाँच जना वकिलले बहस गरे । आलमको तर्फबाट ३४ जना वकिलले वकालतनामा दर्ता गराएका छन् ।

गौरमा कांग्रेस नेताको मौन प्रदर्शनः

आलमका समर्थकहरूले गौरमा विशाल मौन जुलुस प्रदर्शन गरेका छन् । जिल्ला अदालत रौतहट गौरमा बहस चलिरहँदा उनका समर्थकहरूले गौरमा आज दोस्रो पटक मौन जुलुस निकालेका हुन् ।

आलमको रिहाइको माग गर्दै मौन जुलुस निकालिएको जुलुसमा सहभागी नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि मुकेश गिरीले बताए । बीपी चोकबाट निस्केको जुलुस जिल्ला अदालत हुँदै गौर भन्सार पुगेर टुंगिएको उनले बताए ।