Swornakshar Logo

सुकुटे दुर्घटनाः मृतकको संख्या १७ पुग्यो, ६ जनाको सनाखत

१७ कार्तिक । सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगको छ । १७ जनामध्ये ५ जनाको सनाखत भएको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक १७ मध्ये १० महिला, एक बालिका, ३ पुरुष र तीन बालक छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सनाखत हुनेमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका–३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका तीन वर्षीय बालक सिसन तामाङ छन् । त्यस्तै धुलिखेल अस्पतालमा ५२ वर्षीया चेतकुमारी बस्नेतको मृत्यु भएको छ ।

दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा जुटिरहेका छन् । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएका प्रहरीको भनाइ छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो ।

बसमा ४० बढी यात्रु सवार रहेका बताइएको छ । सिन्धु सहावहार अस्पताल खाडीचौरमा २० को उपचार भइरहेको छ भने ४७ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ । गम्भीर घाइतेलाई काठमाडौँ लगिएको प्रहरीले जानकारी दिएको छ ।