Swornakshar Logo

प्रचण्डसँग मेरो दूरी बढेको छैनः प्रधानमन्त्री ओली

१० कार्तिक । काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढको र कुनै सम्भावना पनि नरहेको बताएका छन् । बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासामा प्रचण्डसँग आफ्नो दूरी बढ्ने कुनै अवस्था नरहेको बताएका छन् ।

“रमाइलो कुरा गर्नु भयो, काठमाडौं हुँदाभन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,” प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, “यसभन्दा बाहेक दूरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँही मिलेन । हामी बीच कुनै प्रकारको दूरी बढने सम्भावना र अवस्था दुवै छैन ।”
प्रधानमन्त्री ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको समाचार विभिन्न समाचार माध्याममा आइरहेका थिए ।

प्रधानमन्त्री ओलीले प्रचण्डले मदन भण्डारीसँग आफूलाई तुलना गर्नु भयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै के प्रसंगमा त्यसो भन्नु भएको हो ? आफूले नसुनेको बताए । “म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने ईच्छा राख्छु भन्नु भएको हुनुपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो, “त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दूरी बढेको भन्न मिल्दैन, बरु दूरी घटेको भन्नुपर्छ ।”