Swornakshar Logo

कास्की २ उपनिर्वाचनमा नेकपाबाट विद्या भट्टराई सर्वसम्मत

८ कार्तिक । पोखरा । कास्की २ को प्रतिनिधीसभा उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए । “सर्वसम्मत रुपमा सबै साथीहरुले नै विद्याजीलाई सिफारिस गर्ने प्रस्ताव ल्याउनुभयो, सबैको सहमतिमा नै एकल रुपमा उहाँलाई सिफारिस गर्ने निर्णय गरेका हौँ,” थापाले भने ।

भट्टराई स्व. रविन्द्र अधिकारीकी धर्मपत्नी समेत हुन् । पर्यटनमन्त्रीमा बहाल रहँदै गर्दा गत फागुन १५ गते रविन्द्र अधिकारीको हेलिकप्ट दुर्घटनामा परि निधन भएको थियो । उनको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

उसो त नेकपामा भट्टराईका अलावा सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, धनराज आचार्यको समेत चर्चा थियो ।

भट्टराईसँगै कास्की उपनिर्वाचनमा उम्मेदवार घोषणा गर्ने नेकपा दोश्रो पार्टी बनेको छ । गत बुधबार मात्रै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेको थियो । कांग्रेसले भने गत मंगलबार १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।