Swornakshar Logo

बालिकामाथि यौनशोषण गर्ने शिक्षक पक्राउ

१ कार्तिक । काठमाडौं । धनुषाको मिथिला नगरपालिका, ढल्केवरमा रहेको ढल्केवर एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षकले दुई बालिकामाथि यौनशोषण गरेको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएलगत्तै प्रहरीले यौन शोषणमा संलग्न शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षीय टेकेन्द्र दहाल रहेका छन् ।

ढल्केबरस्थित ढल्केबर एकेडेमी बोर्डिङ्ग स्कुलमा मिनी बोडर्समा रहेर पढ्दै आएका दुई नाबालिकालाई केही समयदेखि पटक–पटक करणी गर्दै आएका शिक्षक टेकेन्द्र दहाललाई प्रहरीले पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–३ घर भएका शिक्षक दहाल स्कुलमा सामाजिक विषय अध्यापन गराउँदै आएका थिए । दसैंअघि बिदाको मौका छोपी बोडर्समा बस्दै गरेका दुई बालिकालाई शिक्षक टेकेन्द्रले फकाएर वा धम्की दिएर पटकपटक जबर्जस्ती करणी गर्ने गरेको बताइएको छ ।

शिक्षकले बलात्कारका बारेमा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएकाले लामो समय पीडित बालिकाले घटना गोप्य राखेको पनि बताइएको छ । घटना सार्वजनिक भएपछि पीडित बालिका र शिक्षकको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ ।

पीडित बालिकामध्ये एउटी ७ वर्षीया र अर्की ९ वर्षीया छन् ।

आरोपी शिक्षकमाथि जबर्जस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।