Swornakshar Logo

तीजका दिन आफ्नै श्रीमतीको हत्या

१७ भदौ । काठमाडौं । एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए अनुसार नवीन खड्काले अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा श्रीमती कमलाको हत्या गरेको खुल्न आएको छ । हत्या गरी फरार रहेका नवीनलाई आज बिहान २ः१५ बजेको समयमा घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

पक्राउ परेका नवीनसंग श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ । उनले के कारणले श्रीमतीको हत्या गरेका हुन् भन्ने कारण खुलिनसकेको प्रहरीले बताएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।