Swornakshar Logo

किन धर्नामा बसे सांसद गगन थापा

१३ भदौ । काठमाडौं । ठेक्का लगेको ९ वर्षसम्म सडक नबनेको भन्दै काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाले सडक विभाग कार्यालय अगाडि धर्ना दिएका छन् । स्थानीयबासीको नेतृत्व गर्दै सो क्षेत्रका सांसद गगन थापा पनि उक्त धर्नामा सामेल छन् ।

सांसद गगन थापा सहित स्थानीयबासीले काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत कपन र बूढानिलकण्ठ क्षेत्रमा १२ वटा सडकको ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सनसहित सडक विभाग कार्यालय चाकुपाटविरुद्ध धर्ना दिएका हुन् ।

सडक मर्मत तथा निर्माण कार्य गत वैशाखमै सक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म सडकको काम २० प्रतिशतभन्दा कम भएको स्थानीयबासीको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको लापरबाहि र ढिलाइ अन्त्य नभएसम्म धर्ना गर्ने चेतावनी दिएका छन् । फेरि
पनि ढिलाइ गर्ने पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरी ठेक्का दिन लागिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

काठमाडौँ क्षेत्र नं. ४ भित्र दर्जन बढी सडक निर्माणधीन अवस्थामा छन् । अधिकांश सडकको ठेक्का शैलुङ कन्स्ट्रक्सन कम्पनीले लिएको छ । शैलुङ कन्स्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र पारेको भन्दै स्थानीय आन्दोलनमा छन् । यता संसद्को विकास समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ ।