Swornakshar Logo

कालिकोटको छाप्रेमा भीषण पहिरो

१० भदौ । काठमाडौं । कालिकोट अविरल बर्षासँगै तिलागुफा नगरपालिका–७ छाप्रेमा सोमवार राती ७ वजेतिर पहिरो गएको हो । पहिरो गएसंगै १८ घर बिस्थापित भएका छन् । पहिरोका कारण छाप्रे, ढाँडगाँउका १८ घरका एक सय ५० जना विस्तापित भएको नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए ।

पहिरोले तिलागुफा नगरपालिकाको वडा नम्वर ६, ७ र ८ का तीन वटा बस्ती जोखिममा परेका छन् भने २२ वटा घर जोखिममा रहेको प्रहरीले बताएको छ ।

पहिरोको कारण करिब ९३ लाख रुपैयाँभन्दा वढीको क्षति भएको प्रहरीको अनुमान छ । नगरप्रमुखका शाहीका अनुसार पहिरो अहिले पनि बगिरहेको छ । पहिरोले डाँढ गाँउका दुई घर पुरेको र कर्णाली राजमार्ग अन्तरगतको सुर्खेत जुम्ला सडकखण्ड पनि अबरुद्ध भएको बताए । कर्णाली राजमार्गमा गुड्ने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै अलपत्र छन् ।

उक्त सडक खुलाउन कम्तीमा ४ दिन लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले बताए। उद्धारका लागि जिल्लाका तीन वटै सुरक्षा निकाय खटाइएको पनि बताए छन् ।