Swornakshar Logo

काठमाडौं प्रहरीले लिएन रवि पत्नी निकिताको जाहेरी

४ भदौ । काठमाडौ । रवि लामिछानेकी श्रीमती निकिता पौडेलले जनआस्थाका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र भिडियो मिडयामा ल्याएको अभियोगमा चितवनका एसपी दानबहादुर मल्लविरुद्ध दिएको जाहेरी प्रहरीले लिन अस्वीकार गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा तीन जनाको नाममा जाहेरी दिन पुगेकी निकितालाई काठमाडौं प्रहरीको कार्यक्षेत्र नभएको भन्दै जाहेरी नलिएको परिसरका एसपी अशोक सिंहले बताए ।

हामीले हाम्रो कार्यक्षेत्र नभएको र घटनासमेत चितवनकै भएको कारण चितवन नै जानु भन्ने सुझाव दिएका छौं,’ एसपी सिंहले भने ।

निकिता प्रहरीले अनुसन्धान गरिरहेको शालिकराम आत्महत्या प्रकरणको भिडियो किर्ते बनाएर सार्वजनिक गरेको भन्दै मुलिकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार उजुरी दिन काठमाडौं प्रहरीमा पुगेकी थिइन् ।

दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ।

घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए।‘चितवनमा घटना भएको छ, उतैबाट प्रहरीले अनुसन्धान गरिरहेको हुनाले उहाँलाई सम्झाएर पठायौं, उहाँ जाहेरी लिएर चितवन जानुहुन्छ,’ सिंहले भने।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी लिएर उनी काठमाडौं परिसर गएकी थिइन्।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन्।

पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।

पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका छन्।