Swornakshar Logo

स्वयम्भूमा महिलाद्वारा आत्महत्या, शव पोस्टमार्टम गर्न लाग्दा बिबाद

३० साउन । काठमाडौं । काठमाडौंको स्वयम्भूमा एक महिलाले आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् । उनले विष सेवन ‍गरी आत्महत्या गरेको बताइएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि थप खुल्ने बताए ।

श्रीमानसँग बस्दै आएकी तामाङको २ छोराछोरी छन् ।

घटना मोडिएपछिः

तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शव पोष्टमार्टमको लागि अस्पताल लगेपछि घटनाले अर्को मोड लिएको छ । शान्तिको आत्महत्याबारे घर पक्ष र माइती पक्षबीच अस्पतालमा सामान्य झगडा समेत भएको प्रहरीले बताएको छ ।

शान्तिको आत्महत्याबारे माइती पक्ष र घर पक्षबीच जलाउने सहमति भएपनि अस्पतालमा झगडा परेपछि घटनाले अर्को मोड लिएको डीएसपी सुवेदीले बताए।

शान्तिका श्रीमानको नाताले भान्जी पर्ने पवित्रा तामाङले शान्तिलाई हामी २÷३ जना मिलेर मारेको भनेको माइती पक्षको आरोप छ ।

सहमतिको लागि प्रहरी चौकीमा जाँदा समेत प्रहरीले भान्जी पवित्रा र उनीसँग गएका अर्का एक युवकलाई भगाएको आरोप माइती पक्षले लगाएको छ ।

तर, यस विषयमा डीएसपी सुवेदीले भगाएको भनि लगाएको आरोप झुठो रहेको बताए । डीएसपी सुवेदीले भने, ‘उनीहरु विरुद्ध किटानी जाहेरी पनि परेको छैन । समात्ने आधार पनि केही छैन ।’