Swornakshar Logo

धादिङमा जीप दुर्घटना १४ जना घाइते

२८ साउन । काठमाडौं । जीप मंगलबार धादिङबेसीबाट मैदीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो । दुर्घटना ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा भएको थियो ।

बा १३ च ५२३० नम्बरको जीप उकालो चढ्न नसकी पछाडि सर्दा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा एउटै गाउँका १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

गम्भीर घाइते हुनेमा ज्वालामुखी गाउँपालिका वडा नम्बर २ की २८ वर्षीया लक्ष्मी श्रेष्ठ, ४० वर्षीय बिरबहादुर मगराती, ३५ वर्षीया बलमाया रानामगर र ५७ वर्षीय लोकबहादुर सामरीलाई थप उपचारका लागि काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा पठाइएको छ । जिल्ला अस्पताल धादिङमा १० जना घाइतेको उपचार भइरहेको छ ।

चार जनाको सिट क्षमता भएको निजी नम्बरको सवारीमा खचाखच यात्रुसहित सामानसमेत हालेर उकालो बाटो जाँदा गाडी पछाडि हटेको घाइते यात्रु पौषप्रसाद तिवारीले बताए । निजी नम्बर प्लेटको बोलेरो जीपमा १८ जना यात्रु चढेका थिए ।

उकालो बाटोमा गेयर बदल्ने क्रममा जीप पछाडि हटेको र सडक छेउको धारोसमेत भत्काएर पल्टिएको थियो ।