Swornakshar Logo

काठमाडौंमा मेलम्ची खानेपानीको पाइप सफा गर्दा २ जनाको मृत्यु

१७ साउन । काठमाडौं । काठमाडौं महानगरपालिका– १६ बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा बेहोस भएर शुक्रबार बिहान २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका–२ घर भएका २५ वर्षीय सुरेश साह र सोही ठाउँका २० वर्षीय शिवकान्त साह रहेका छन् । उनीहरु पाइपभित्र पसेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बेहोस अवस्थामा उद्दार गरेको थियो ।

उनीहरुलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।