Bagmati Samachar Logo

धादिङका स्थानीयले प्रहरीलाई बुझाए १६ थान अवैध भरुवा बन्दुक

२३ चैत । काठमाडौं । धादिङको खनियाबास गाउँपालिकाको स्थानीयहरुले १६ थान अवैध बन्दुक प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले स्थानीयले बुझाएको १६ थान भरुवा बन्दुक शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

नेपाल सरकारले गत फागुन २१ गतेको मन्त्रीपरिषद् निर्णयबाट देशभर अवैध हातहतियार र खरखजाना प्रहरी प्रशासन समक्ष बुझाउन निर्देशन दिएसँगै खनियाबास गाउँपालिकाका स्थानीयले ठूलो मात्रामा रहेको भरुवा बन्दुक प्रहरीलाई बुझाएका हुन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको नेतृत्वमा एसपी राजकुमार बैदवार, उपअनुसन्धान निर्देशक सुदिप अधिकारी, सशस्त्र प्रहरी नायब उपरिक्षक दर्शन गिरीसहितको टोली हतियार संकलनको लागि २० र २१ गते खनियाबासमा पुगेर सार्वजनिक सुनुवाई गरेका थिए । उक्त सार्वजनिक सुनुवाईपछि स्थानीयहरुले भरुवा बन्दुक प्रहरीलाई बुझाएका हुन् ।

खनियावास गाउँपालिका – १ बाट सात थान, २ बाट ४ थान, ३ बाट एक थान, ४ बाट दुई थान र ५ बाट दुई थान अवैध वन्दुक प्रहरीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख (एसपी) राजकुमार बैदवारले बताए ।

विगतमा यस क्षेत्रमा पटक–पटक अबैध हतियारका कारण मान्छेको ज्यान समेत जाने गरेको थियो ।
सरकारले दिएको अवधिभित्र आफ्नो घरमा रहेको अवैध हातहतियार बुझाउनेलाई प्रहरीले कुनै कारवाही नगर्ने र पछि भेटेमा हातहतियार तथा खरखजना मुद्दामा कानून वमोजिम कारवाही गर्ने एसपी पाण्डले जानकारी दिए ।