Swornakshar Logo

पतिको कुटपिटबाट घाइते भएकी सुनिताको उपचारको क्रममा मृत्यु

१५ चैत । काठमाडौं । पतिको कुटपिटबाट घाइते भएकी सुनिता यादवको मृत्यु भएको छ । वीरगञ्ज मनपा–११, हरपतगञ्ज निवासी ३६ वर्षीया सुनिता यादवको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा चैत १५ गते मृत्यु भएको छ ।

नारायणी अस्पतालमा कार्यरत ४० वर्षीय डा.सचितानन्द यादवले पत्नी सुनितालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि घाइते भएकी सुनीताको उपचारको क्रममा मृत्यु भएको हो ।

सुनितालाई चैत ८ गते पति डा. सचितानन्दले कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

कुटपिट गर्दा घाइते भएकी उनको मानसिक सन्तुलन गुमेको अवस्था रहेको पीडित पक्षले जनाएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई चैत ११ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सुनिताको उपचार वीरगञ्जको गण्डक अस्पतालको आइसीयूमा राखेर गरिएकोमा थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

डा. सचितानन्दसँग १५ वर्ष पहिले वीरगञ्ज गण्डक बहुअरीकी सुनिताको २० लाख रुपियाँ दाइजो समेत दिई मागी विवाह भएको थियो ।

विवाहको एक वर्ष नबित्दै जेठी पत्नीबाट बालबच्चा नपाएको निहुँमा डा. सचितानन्दले भारतको रक्सौल निवासी एक महिलालाई कान्छी पत्नीको रुपमा विवाह गरेका थिए ।

त्यसपश्चात डा.यादवले कान्छी पत्नीसँग मिलेर पीडितकी जेठी पत्नी सुनीतालाई निरन्तर मानसिक तथा शारीरिक रुपमा यातना दिँदै आएको उनका भाइ सन्तोष यादवले बताए ।