Swornakshar Logo

निर्मला हत्या प्रकरणमा फरार सूचीमा रहेका डिएसपी अदालतमा उपस्थित

उल्टाखामकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपी जिसी आज सोमबार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् । यसअघि उनी प्रहरीको फरार सूचीमा रहेका थिए ।अ‍दालतले उपस्थित हुन सूचना निकालेको दुई सातापछि जिसी आफै अदालतमा उपस्थित भएका हुन् । गत फागुन २६ गते उनलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन सूचना जारी गरिएको थियो ।

अदालतमा आत्मसमर्पण गरेपछि डिएसपी जिसीको बयान लिने क्रम सुरु भएको छ । बयान सकिएपछि उनको मुद्दामा थुछेक बहस सुरु हुने जनाइएको छ ।डिएसपी जिसीविरुद्ध घटनाको अनुसन्धानमा लापरबाही तथा प्रमाण मेटाउन भूमिका खेलेको तथा पक्राउ परेकालाई यातना दिएको अभियोगमा मुद्दा दायर गरिएको थियो । उनीसहित ८ जना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्त र शंकाष्पद अभियुक्त मानिएका दिलिपसिंह विष्टको परिवारले मुद्दा दर्ता गराएका थिए ।सोही प्रकरणमा मुद्दा खेपेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई आइतबार जिल्ला अदालत कञ्चनपुरले १० लाख धरौटीमा छाड्न आदेश दिइसकेको छ । उनलाई यातनाविरुद्धको मुद्दामा साढे ४ लाख र अनुसन्धानमा लापरबाही मुद्दामा ६ लाख धरौटी गरी कुल १० लाख धरौटी बुझाउन भनिएको हो ।

जिल्ला अदालत कञ्चनपुरमा सोही प्रकरणमा ८ जना प्रहरी विरुद्ध मुद्दा दायर भएकोमा ६ प्रहरीलाई यसअघि नै धरौटीमा रिहा गर्न आदेश र एसपी विष्टलाई आइतबार आदेश दिइसकिएको छ ।