Swornakshar Logo

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, ७ राउन्ड अश्रु ग्यास प्रहार

७ चैत । काठमाडौं । रौतहटको गुजरा नगरपालिका –९ मा सिमरा भजानीपुर टोलमा बिहिबार साँझ झडप हुँदा प्रहरीले ७ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ ।
होली मनाउने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेसँगै ६ राउन्ड सर्ट गनको रबर सेल पनि प्रहार गरेको छ ।
स्थानीयले प्रहरीमाथि एक्कासी ढुंगामुढा गर्न थालेपछि अश्रु ग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी भुपेन्द्र खत्रीले बताए ।
एसपी खत्रीका अनुसार झडपमा परी ५ जना घाइते भएका छन् । जसमा प्रहरीका ३ जना र स्थानीयका २ जना रहेको उनले बताए ।

यसरी भयो घटना

रौतहटको गुजरा नगरपालिका –९ मा सिमरा भजानीपुरको बनियाँ टोलमा होली पर्व मनाउन मड्खा (माटोको भाँडो) झुण्ड्याइएको थियो । उक्त भाँडो बनियाँ युवाहरुले नै फुटाउनुपर्ने थियो ।

तर, उक्त भाँडो नजिकै रहेको एक टोलका चौधरी युवाहरुले फोरे । त्यही निहुँलाई लिएर घटनाले उग्ररुप लियो । बनियाँहरुको अल्पसंख्यक । चौधरी युवाहरुले बनियाँहरुमाथि कुटपिट गरे ।

झडप भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको एक टोली घटनास्थल पुग्यो । घटनामा संलग्न २ जना चौधरी युवालाई प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि घटना केही समय साम्य भयो ।

त्यसको केहीबेर पछि पुनः चौधरी युवाहरु संगठित भएर सयौंको संख्यामा गएर प्रहरी चौकी सिमरापुरका प्रहरीमाथि आक्रमण गरे । आक्रमण गर्दा ३ जना प्रहरी घाइेत भए भने २ जना चौधरी युवा ।

घाइते हुनेहरुमा प्रहरी हवल्दार ईश्वर बिष्ट, प्रहरी जवान पिताम्बर काफ्ले र जवान पवन माझी रहेका छन् । अन्य २ जना घाइते स्थानीयको भने पहिचान भएको छैन् ।

घटनाले उग्ररुप लिँदा इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर र त्यसको मातहतमा रहेका आधा दर्जन प्रहरी टोली घटनास्थल पुगेर ७ राउन्ड अश्रु ग्यास र ६ राउन्ड सर्ट गनको रबर सेल फायर गर्यो । त्यसपछि भीड नियन्त्रण भयो ।

यतिबेला आक्रमणकारीहरु मध्येका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त ठाउँमा व्यापक रुपमा सुरक्षा परिचालन समेत गरिएको एसपी खत्रीले जानकारी दिए ।