Swornakshar Logo

सर्लाहीका द्वन्द्वपीडित बालबालिकाले मनाए सामूहिक होली

६ चैत । सर्लाही । सर्लाहीको हरिवन नगरपालिका १ घुर्कैलीका द्वन्द्वपीडित बाल गृहका बालबालिकाले बुधबार सामुहिक होली मनाएका छन् ।
सामुहिक होली मनाउन सर्लाही क्षेत्र नम्बर १(क) बाट निर्वाचित प्रदेश सांसद बेची लुङ्गेलीसहित नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी द्वन्द्वपीडित बालगृह घुर्कैली पुगेका थिए।
चेतना सन्देश नेपालले सञ्चालन गरेको द्वन्द्वपीडित बालगृहमा ४२ जना द्वन्द्वपीडित बालबालिका छन् । २०५९ सालमा स्थापित बालगृहमा बाबु आमा गुमाएका टुहुरा बालबालिकाले अध्ययन गर्दै आएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले बताए ।
बुधवार संस्थाले आयोजना गरेको होली कार्यक्रममा बालबालिकाहरुले एक आपसमा रङ, अबिर लगाएर रमाइलो गरेका थिए । अभिभावक गुमाएर टुहुरा भएका बालबालिकालाई अभिभावक नभएको महसुस नहोस् भनेर यसरी प्रत्येक वर्ष फागुन पूर्णिमा तथा होलीको दिन यो पर्व मनाउँदै आएको संस्थाले जनाएको छ।