Bagmati Samachar Logo

विप्लवलाई लक्षित गर्दै लुटेरा समूहुसँग नडराउन प्रधानमन्त्री ओलीको आह्वान

२९ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि संचालन गरिरहेकाले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले कानूनी कार्वाही गर्ने निर्णय गरेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै यस्ता गतिबिधी सहन गर्न नसकिने स्पष्ट पारे। ओलीले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गरे। लुटेरा गतिविधिमा संलग्न जोकोहीलाई सरकारले कानुन बमोजिम कार्वाही गर्ने उनले चेतावनी छ।

नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँडने अधिकार कसैलाई पनि नरहेको बताए ।
प्रधानमन्त्री ओलीले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराए। ओलीले जनताको विश्वास आर्जन हुने गरी काम नगर्ने जनप्रतिनिधिलाई फेरी जनप्रतिनिधि हुने अवसर नआउनेतर्फ पनि सचेत गराए। प्रधानमन्त्री ओलीले मुलुक भ्रष्टाचारको उच्च श्रेणीमा भएकोमा आफूलाई अन्तराष्ट्रिय मंचहरुमा लज्जाबोधको विषय हुने गरेको उल्लेख गर्दै सुशासनमा जोड दिएर विकास, निर्माणको कामलाई अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले देशको हित र कानूनको रित अनुसार काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वान गरे।