Swornakshar Logo

जन्ती बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ जना घाइते

२८ फागुन । हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२, धरमपानीमा मंगलबार दिउँसो जन्ती बस दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । भक्तपुरबाट हेटौंडाका लागि जन्ति बोकेर आएको बा.४ ख २२१७ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा दूर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसमा २८ जना सवार थिए। गम्भीर घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि चितवनको भरतपुर रिफर गरिएको छ।

सामान्य घाइते भएकाहरुको हेटौंडा अस्पताल र गम्भीर घाइते भनिएका ३ जनाको हेटौंडा–११, स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा नुवाकोट घर भई हाल बालाजु बस्ने २१ बर्षीय विकास धमला र काभ्रे ज्याम्दी घर भई भक्तपुर बोडे बस्ने ३० बर्षीय नवराज परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले तत्काल मृतकको सनाखत, घाइतेको उपचारमा केन्द्रित भएका कारण दुर्घटनाको बारेमा अनुसन्धान गर्न नसकिएको बताए । घाइतेहरुले तीब्र गतिका कारण बस दुर्घटना भएको बताएका छन्। दुर्घटनामा घाइते भएका कुमार परियारले बस धेरै स्पीडमा रहेको कारण दुर्घटना भएको बताए।

‘बस अली बढी नै स्पीडमा थियो। चालकले स्पीडमा नै मोड्न खोज्दा दुर्घटना हुन पुग्यो। राम्रो बाटो भएको कारण बस स्पीडमा चलाइएको थियो,’ उनले भने, ‘हाम्रो बस अरु बिहेको बसभन्दा पछाडि थियो। हामी रमाईलो गर्दै आउँदै थियौ, एक्कासी मोड आयो, ड्राइभरले काट्न खोज्दा बस दुई बल्ड्याङ खाँदै सडकभन्दा २० मिटर तल रुखमा गएर अड्कियो ।

एकजनालाई बसले किच्यो, अर्को एकजना जिउँदै थिए, उनलाई बचाउने प्रयास गर्दा गर्दै सकिएन।’ दुर्घटनाका अर्का घाइते रवीन्द्र न्यौपानेले पनि ओभर स्पीडको कारण दुर्घटना भएको बताए। ‘चाहिनेभन्दा बढी स्पीडमा बस कुदिरहेका थियो,’ उनले भने, ‘बाटो नयाँ भएको कारण हामीलाई डर लागिरहेको थियो ।’