Swornakshar Logo

मन्त्रीमण्डल हेरफेर गर्नेबारे प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा छलफल

२८ फागुन । काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको दुई अध्यक्षबीचको भेटमा मन्त्रिमण्डल पुर्गठन गर्नेबारेमा छलफल भएको हो ।
नेकपा अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा आफू र प्रधानमन्त्री ओलीबीच छलफल भएको विराटनगर गएर खुलासा गरेका हुन् ।

विराटनगरमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले प्रधामन्त्री ओलीसँग मन्त्रिमण्डल पुनर्गनका विषयमा छलफल भएको बताए ।
‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाव गर्नुहुन्छ, त्यसमा बढी भर पर्छ । हाम्रो सिस्टम भनेको प्रधानमन्त्रीकै छ । उहाँले कसरी मूल्यांकन गर्नुहुन्छ, त्यसमा भर पर्छ’, प्रचण्डले भने, ‘आज मात्रै प्रधानमन्त्रीसँग पुनर्गठनको बारेमा कुराचाहिँ भएको छ ।’
प्रचण्डले मन्त्री फेर्ने वा पुनर्गठन गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई नै दिइएको पनि जानकारी दिए । ‘प्रधानमन्त्रीजीको म हेरिरहेको छु भन्ने भनाई रहेको छ । मैले यो तपाईकै मूल्यांकनमा भर पर्ने कुरा हो आवश्यक निर्णय गर्नुस् भनेको छु, कार्यक्षेत्र पनि उहाँकै हो ।’ प्रचण्डले भने ।

अर्को प्रसंगमा उनले संविधानले दिएको व्यवस्था अनुसार प्रदेशलाई अधिकार दिइने पनि बताए । सरकारले अधिकार दिने र खोस्ने भन्ने कुरा नहुने भन्दै प्रदेशलाई संविधानअनुसार अधिकार दिइनुपर्छ भन्ने आफ्नो भनाई रहेको प्रचण्डले बताए ।

पृथकतावादी आन्दोलनमा लागेको सिके राउतलाई मुल धारमा ल्याउन सरकारले गरेको सहमतिलाई अन्यथारुपमा लिन नहुने भन्दै प्रचण्डले हतारमा टिप्पणी गरिहाल्नु जरुरी नभएको बताए ।
राउतसँग सरकारले गरेको सहमतिमा आफ्नो समर्थन रहेको पनि प्रचण्डले बताए ।