Swornakshar Logo

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

१८ फागुन , काठमाडौं । पूर्वउपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। शनिबार अधिकारीको निधन भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

गत माघ २४ गते ह्याम्स अस्पताल भर्ना भएका अधिकारीको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो।

तीन दिनदेखि अधिकारीले परिवारका सदस्यहरुले बोलाउदा समेत प्रतिक्रिया जनाउन छाडेका थिए।

शनिबार दिउँसो अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अस्पतालले अधिकारीलाई बचाउन सक्ने संभावना न्यून रहेको जानकारी दिएको थियो।

शनिबारै अधिकारीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता वामदेव,रक्षामन्त्री इश्वर पोखरेल र सभामुख कृष्णबहादुर महराल,मन्त्री गोकण विष्ट,भानुभक्त ढकाल लगायत अस्पताल पुगेका छन्।

लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक९पटक दोहोरिएको थियो।

गत पुस २३ देखि अस्वस्थ भएका अधिकारीलाई सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। त्यसपछि फेरि उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

चारपटक अर्थमन्त्री समेत रहेका अधिकारीले एकपटक यातायात तथा निर्माणमन्त्रीको जिम्मेवारी समेत पूरा गरेका थिए। यसैगरी, चारै पटक सांसद भएका अधिकारी संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमनजस्ता विभाग प्रमुख जिम्मेवारी बहन गरेका थिए।

अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका कार्यक्रम वृद्धभत्ता र ‘आफ्नो गाउँ, आफैँ बनाऔँ अभियान निकै लोकप्रिय बनेका कार्यक्रम हुन्।

८३ वर्षीय अधिकारी विगत एक वर्षयता पटकपटक अस्पताल भर्ना हुने र डिस्चार्ज हुँदै आएका थिए । उहाँको पार्थिब शरीर भोलि अन्तिम श्रध्दाञ्जलीको लागि बिहान ९.०० बजे देखि १२.०० बजे सम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने छ ।