Swornakshar Logo

राउटेको १२ वर्षमै घरजम

१६ फागुन । दैलख । बस्तीको माथिल्लो भागमा घना जङ्गल । जहाँ फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको बासस्थान छ ।

राउटे वस्तीबीचैमा केही दिन अघि मात्रै सजाइएको बिहेको मण्डप देखिन्छ । त्यहाँ राखिएका सामग्रीहरु तितरबितर भइसकेका छन् ।

खाली चार खम्बा मात्रै बचेका छन । खम्बाको बीचैमा गाडिएका पाँच वटा अग्ला अग्ला टागोले त्यहाँ पुग्ने सबैलाई अचम्मित तुल्याउँछ ।

राउटे मुखिया सूर्यनाराण शाहीलाई सोधियो– यो के हो ? उनले भने, ‘केही दिन अगाडि गरिएको बिहेको मण्डप हो । हाम्रो समुदायमा जति वटा विवाह भयो, त्यति नै मण्डपको बीचैमा टागो गाडेर धजा बाँध्छौं ।’

उनका अनुसार समुदायमा एक साता अघिदेखि लगातार पाँच वटा विवाह भएका रहेछन् । त्यसपछि विवाह गर्नेको जोडीको खोजीमा लाग्यौं ।

सबैको नाम र उमेर सोध्यौं । भर्खरै बिहे गरेका ती जोडीले मन नलागी नलागी हामीले सोधेका प्रश्नको जवाफ दिए । लजाइलजाइ जवाफ दिने मध्येकी एक थिइन् , मयाराम शाही ।

उनी १२ बर्ष पुगिन् । आफ्नै स्याहार आफंै गर्न नसक्ने अवस्थाकी उनको गत साता बिहे भएको रहेछ । आफूभन्दा २० वर्ष पाका दल बहादुर शाहीसँग ।

दलबहादुरको यो दोस्रो बिहे हो । पहिलेकी पत्नीको मृत्युपछि उनले मयारामसित बिहे गरेका हुन् । दलबहादुरका दुई सन्तान छन् । मयारामलाई आफ्नो बिहे दलबहादुरसँग भएको पत्तो समेत छैन ।

‘उसले अझै पनि म उसको श्रीमान् हो भन्ने थाहा पाउँदिन,’ दलबहादुरले भने, ‘सानै छे, उमेर बढेसँगै विस्तारै सबै कुरा बुझ्छे ।’ उनले आफ्नो समुदायमा उमेर मिल्ने महिला नभएपछि कम उमेरकै केटीसँग बिहे गर्न बाध्य भएको सुनाए ।

सोही वस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।

पछिल्लो एक सातामा १४ वर्षीया बाँगे शाहीले २२ वर्षीया हीरासिंह शाहीसँग विवाह गरिन् । खेमराज शाही र सुविधा शाही तथा सुरेन्द्र शाही र मसुरी शाहीको पनि यही महिना विवाह भयो ।

एक सातामा राउटे वस्तीका पाँच बालिकाको विवाह भयो । राउटे वस्तीमा यी सबै विवाह राति गरिएका हुन् । विवाह गरेका सबै १३ देखि १५ वर्षसम्मका किशोरी छन् । राउटेहरू रास्कोटी, कल्याल र स्ववंशी गरी तीन प्रकारका रहेको मुखिया सूर्यनारायणले जानकारी दिए । उनका अनुसार आफ्नै उमेर समूहका महिला नभएका कारण अधिकाँश युवा अविवाहित छन् ।

विवाहपछि केटा र केटीलाई छुट्टै राख्ने चलन छ । ‘विवाहपछि छुट्टै छाप्रो बनाएर उनीहरूलाई बसाउने गरिन्छ,’ उनले भने ।

दक्षिण एशियाकै लोपोन्मुख मानिएको राउटे आफूलाई जङ्गलको राजा मान्छन् ।

यो समुदायमा सानै उमेरमा विवाह गर्ने महिलाको सङ्ख्या बढी छ । सुर्खेतको लेकबेसी नगरपालिका– १ भेरी नदी किनारमा बसोबास गरिरहेका राउटे समुदायमा गत एक साताको अवधिमा भएका विवाहले त्यो पुष्टि गर्छ ।

जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाको उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ ।

‘केटाहरू धेरै छन्,’ मुखिया सूर्यनारायणले भने, ‘बिहे गर्न वर्षौ कुर्नुपर्छ तर पनि, कत्ति केटाको त निकै मुश्किलले मात्रै पालो आउँछ ।’

केटी नपाउँदा धेरैजसो पुरुषको ४० वर्ष कटेपछि मात्रै बिहे हुने गरेको उनी बताउँछन् । पुरुषले लामो समय कुर्नुपर्ने तर, महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुेपर्ने बाध्यता परम्परा जस्तै बनेको छ वस्तीमा ।

छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा । ‘छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,’ समुदायकी एक महिलाले भनिन्, ‘कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुङ्गो लगाइन्छ, उमेरको कुनै वास्ता हुन्न ।’ सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन् ।

सानै उमेरमा विवाह गरेकै कारण ३० वर्षीया प्रकाश शाही र १७ वर्षीया महिन शाहीबाट जन्मिएका जुम्ल्याहा छोरीहरुको ज्यान गयो ।

कोही अझै अविवाहित

समुदायमा कोहीको १२ वर्षमै विवाह भएको छ भने कोही अझै अविवाहित छन् ।

झण्डै २५ वर्षकी गाजली शाहीले भने आफ्नै उमेरका केटा नपाएर विवाह गरेकी छैनन् । उनको थर कल्याल शाही भएकाले रास्कोटी र स्ववंशीसँग उनको विवाह चल्दैन ।

आफूले विवाह गर्न मिल्ने केटा सानै भएकाले विवाह नभएको उनी बताउँछिन् । ‘आफ्ना उमेरका कोही छैनन्, आफ्नो समुदाय बाहेक अन्यसँग बिहे गर्न पाइँदैन,’ उनले थपिन्, ‘त्यसैले अहिलेसम्म मेरो बिहे भएको छैन ।’

कल्याल जातिमा किशोर र किशोरीसँग विवाह गर्ने उमेरका केटा र केटी नहुँदा अविवाहित बस्नुपर्ने बाध्यता छ । राउटेमा आफूभन्दा अघिल्लोको बिहे नगरी कम उमेरकाले बिहे गर्ने चलन छैन ।

उनका अनुसार कतिपय बालिकाले आमाबुवाको करकापमा विवाह गरेका छन् । करिब ६ महिनादेखि राउटे समुदायमा बसेर काम गर्दैआएकी दुर्गा खत्रीका अनुसार सानो उमेरमा विवाह गर्दा राउटे समुदायमा मातृ तथा शिशु मृत्युको जोखिम बढी छ ।

अक्षरसँग साइनो

लेखपढ नगर्ने, जागिर नखाने र खेतीपाती नगर्ने राउटे पछिल्लो समय परिवर्तन हुने थालेका छन् । उनीहरुले आधुुनिक जीवनशैली अङ्गाल्न थालेका हुन् ।

अक्षर चिन्नु पनि मान्यता विपरीत रहेको यो समुदायका बालबालिकाहरु पछिल्लो समय कखरा सिक्न थालेका छन् । वस्ती नजिकै बसेर सिकेको थाहा पाए मुखियाले गाली गर्ने भएकै कारण बालबालिकाहरु वस्तीभन्दा केही टाढा गएर लेखपढ गर्ने गरेका छन् ।

दैलेखको सोसेक नेपालमार्फत सञ्चालन भएको राउटे परियोजनाले जोडी शिक्षक र अहेवको व्यवस्था गरेको छ । उनीहरु समुदायमै खटिएका छन् ।

राउटे समुदायमा खटिनुभएकी शिक्षिका खत्रीका अनुसार राउटे बालबालिकाहरु पढाइ र लेखाइमा इच्छुक भए पनि समुदायका अगुवाले अवरोध गर्ने गरेका छन् ।

समुदायका अन्य सदस्यहरु पनि आधुनिकतामा रमाउन थालेका छन् । बिरामी हुँदा होस् या चोटपटक लाग्दा जडीबुटी प्रयोग गर्ने उनीहरु अहिले औषधि उपचार गर्न थालेको अहेव विनोद कुमारी बिसीले बताइन ।

एकसरो गादो मात्र लगाउने राउटे समुदायमा पुरुष टोपी, जुत्ता, चप्पल, कमिज, टिसर्ट र महिलाहरू गुन्यूचोलो, पटुकी र गलामा पोते लगाउन थालेका छन् । तर विवाह परम्परामा भने अहिलेसम्म परिवर्तन आउन सकेको छैन ।