Swornakshar Logo

भुक्तानी नमिल्दा अमेरिकामै रोकियो १ अर्बका राइफल

१४ फागुन । काठमाडौ । रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकासंग भएको हतियार खरिद सम्झौतामा भुक्तानी प्रक्रिया नमिल्दा हतियार ल्याउन ढिला भएको बताएका छन् ।

आज रक्षा मन्त्रालयमा गरेको पत्रकार भेटघाटमा मन्त्री पोखरेलले सार्वजनिक खरिद ऐनका कारण एकै पटक भुक्तानी दिन नमिल्ने भएपछि एम–१६ राइफल ल्याउन ढिलाई भएको बताए ।

उनले भने ‘अमेरिकामा जीटुजी भएपछि एक पटक भुक्तानी लिने नियम रहेछ हाम्रोमा त्यो नहुदा सेनालाई हतियार ल्याउन ढिला भएको हो,’ उनले भने ।

तत्काल हतियार किन चाहियो भन्ने जिज्ञासामा रक्षामन्त्री पोखरेलले भने, ‘सेना राखेपछि हतियार चाहिन्छ । सेना क्लबका लागि राखेको होइन ।’

सेनालाई चुरे संरक्षणमा समेत खटाउने बिषयमा छलफल भइरहेको उनले बताए । चुरे संरक्षणका लागि सेना नै परिचालन गर्नुपर्ने अवस्था आएको उनले भने ।

मन्त्री पोखरेलले आफुले मन्त्रालय सम्हालेपछि एक बर्षमा गरेका कामवारे जानकारी दिन पत्रकार सम्मेलन गरेका हुन ।