Swornakshar Logo

आज पुन सानेपामा नारा जुलुुसःअरु केही जान्दैनौं,३२ माथि मान्दैनौं

११ बजे बोलाइएको केन्द्रीय समिति बैठक अझै बस्न सकेन

१४ फागुन । काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यलय सानेपामा आज पुन नेविसंघको एक समुहले नारा जुलुस गरेका छन् ।
नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हदबन्दी लगाउनुपर्ने माग गर्दै नेविसंघ नारावाजी गरेको छ ।
नैनसिंह महर नेतृत्वको निर्वाचित कार्यसमिति भंग भएपछि नेविसंघमा तदर्थ समिति ल्याउने तयारी भइरहेका बेला उनीहरुले नारावाजी गरेका हुन् ।

कांग्रेसमा तेस्रो धारका रुपमा चिनिने नेता कृष्णप्रसाद सिटौला निकट विद्यार्थी नेता कार्यकर्ताले पार्टी कार्यालय सानेपामा बिहानैदेखि नारावाजी गरेका हुन् । उनीहरुले नेविसंघमा पार्टीले नै ३२ वर्षे उमेरहदबन्दी लगाउने विधान पारित गरेकाले यसको कार्यान्वयन हुनुपर्ने माग गरेका हुन् ।
विधानमै ३२ वर्षको प्रावधान भइसकेपछि यसलाई लागू गर्नु पार्टीको दायित्व हो, विघटित केन्द्रीय समिति सदस्य सुशील भट्टले भने, नभए किन विधान चाहियो ? आफूखुसी जे गरे पनि भइहाल्यो नि ।’

उनले पार्टीले विधानको कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए । लोकतान्त्रिक पार्टीले विधानलाई अवज्ञा गर्ने कुरा आउँदैन, कसैको अनुहार हेरेर विधानको उल्लंघन गर्ने कुरा हामी स्वीकार्न सक्दैनौं, भट्टले भने ।
विधान कार्यान्वयनको माग गर्दै उनीहरुले निरन्तर पार्टी कार्यालय अगाडि आन्दोलन गर्दै आएका छन् । शनिवार मात्र नेविसंघकै दुई समुहबीच झडप हुँदा एक दर्जन बढी विद्यार्थी नेता कार्यकर्ता घाइते भएका थिए । संस्थापन पक्ष अब बन्ने तदर्थ समितिमा विधान कार्यान्वयन नहुने धारणा राख्दै आएको छ । उमेदहदका विषयमा रामचन्द्र पौडेल पक्ष पनि मौन देखिन्छ ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा नेविसंघको नयाँ नेतृत्व र उमेरहदकाबारेमा छलफल चलिरहेको छ । आज विहान ११ बजे पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएकाले नेविसंघका नेता कार्यकर्ताहरु बिहानै पार्टी कार्यालय पुगेका थिए । तर केन्द्रीय समितिको बैठक अझै सुरु हुन सकेको छैन । नेताहरु सानेपामा पुगिसकेका छन् । शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेकाले बैठक बस्ने ढिलो भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।