Swornakshar Logo

गृहमन्त्रीले भेटे बम बिष्फोटका घाइतेलाई, सरकारले निःशुल्क उपचार गरिदिने

११ फागुन । काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि भएको बम बिष्फोटका घाइतेलाई भेटेका छन् ।
घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने बताए ।

घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेट्न मन्त्री थापा मेडिसिटी अस्पताल पुगेका थिए । मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल गएका थिए ।
शुक्रबार बेलुका नख्खुस्थित एनसेल केन्द्रीय कार्यालय अगाडि भएको बम विष्फोटमा प्रतिक्षा खड्का, उषा मानन्धर र सिंहप्रताप गुरुङ घाइते भएका थिए । गुरुङको भने उपचारको क्रममा मेडिसिटी अस्पतालमै आज शनिबार मृत्यु भइसकेको छ । प्रतिक्षा र उषाको सोही अस्पतालमा उपचार जारी छ ।

मन्त्री थापाले यस्ता घटना नख्खुमा मात्र नभइ देशभर नै भएको बताउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘घटना दुःखद भयो । हामी कडाइपूर्वक छानबिन गर्छौं र दोषीलाई कानुनको कठघरामा ल्याउँछौं ।’

उनले सरकारले घाइतेको निःशुल्क उपचार गरिदिने र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने पनि बताए ।