Bagmati Samachar Logo

मेलम्चीको ठेकेदार फर्काउने प्रयास जारी छः खानेपानीमन्त्री

१० फागुन । काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीलाई नै पुनः काममा फर्काउन प्रयत्न गरिरहेको बताएकी छिन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्न जवाफ दिदै मन्त्री मगरले सरकारले मेलम्ची खानेपानीको सन्दर्भमा दुईवटा विकल्पमा छलफल गरिरहेको जानकारी दिएकी हुन् ।

बैठकमा मन्त्रीसँग प्रत्यक्ष सवाल–जवाफ कार्यक्रममा सांसद डिला संग्रौलाले गरेको मेलम्चीको खानेपानी कहिले राजधानीबासीले खान पाउँछन् ? भनेर प्रश्न गरेकि थिइन ।
जवाफमा मन्त्री मगरले सरकारले पहिलो प्राथमिकता सीएमसी कम्पनीलाई नै पुन काममा फर्काउने र नभए द्रुतगतिबाट रिटेण्डर गरेर नयाँ कम्पनीलाई काम गर्न दिनेबारेमा छलफल भइरहेको जानकारी दिइन।

सदनमा मन्त्री मगरलाई सांसदहरुले मन्त्री र सचिवविच मेलम्चीका बारेमा भइरहेको आरोप प्रत्यारोपका बारेमा पनि प्रश्न गरेका थिए । सांसद संग्रौलाले खानेपानी मन्त्रालयबाट सचिव गजेन्द्र नारायण ठाकुरलाई किन सरुवा गरिएको हो ?
ठाकुरले मन्त्रीले कमिसन मागेकाले सीएमसी फर्किएको भनेको विषयमा सत्य हो ? भनी पुरक प्रश्न गरेकी थिइन ।

त्यस्तै सांसद राजेन्द्र कुमार केसीले गत बैशाखमै पानी उपलब्ध हुने आश्वसन दिएको थियो किन अहिलेसम्म आएन पानी ? सचिवले मन्त्रीले, मन्त्रीले सचिवले कमिसन मागेका कारण ठेकेदार कम्पनी भागेको भन्ने समाचार आएको विषयमा सत्य तथ्य के हो ? भनी प्रश्न गरेका थिए ।

त्यस्तै सांसद महेश बस्नेतले मेलम्ची खानेपानी आयोजनाले विगारेको सडक कहिले बन्छ ? भनी प्रश्न गरेको थिए । अर्का सांसद गगन कुमार थापाले सीएमसी कम्पनी भागेको विषयमा मन्त्री र सचिवविच आरोप प्रत्यारोप भइरहँदा वास्तविक दोषी को हो ? र दोषिलाई किन कार्वाही नगर्ने भनी सोधेका थिए ।

त्यस्तै सांसद प्रेमकुमार सुवालले काठमाण्डौ वरिपरिको जलाधारलाई संरक्षण गरे खानेपानीका लागि मेलम्चीको ठुलो लगानी आवश्यक पर्दैन भन्ने विषयमा के भन्नहुन्छ ? भनी सोधेका थिए भने अर्का सांसद बहादुरसिंह लामाले सीएमसीलाई पेब्याक दिएको सन्दर्भमा के हो ? भनी पुरक प्रश्न गरेका थिए ।

पुरक प्रश्नहरुको जवाफमा मन्त्री मगरले आफ्नो कार्यकालमा मेलम्ची आयोजनामा तुलनात्मक रुपमा धेरै काम भएपनि अन्तिम नतिजा भने दिन नसकेको दाबी गरिन् । उनले सीएमसीको लापर्वाहीका कारणमात्र अन्तिम नतिजा नआएको र त्यो दुर्भाग्य भएको बताइन ।

उनले भनिन् ‘मेरो कार्यकालमा ब्रेक थ्रु भएको, टनेल बनाउने, भेण्टिलेशन र गेट बनाउने काम अन्तिम चरणमा पुगिसकेको थियो तर विचमा अन्यौलता सृजना हुनु दुर्भाग्य हो । जसले गर्दा अन्तिम परिणाम दिन सकिएन ।’ उनले सीएमसी फर्किएको भोलीपल्टदेखि नै सरकारले फर्काउने प्रयत्न गरिरहेको जानकारी दिइन् ।

उनले सीएमसी पुन काममा फर्किए लोकल भेण्डर मिलाउन सरकार सक्षम रहेको भन्दै उनले यदि सीएमसी फर्कियो भने रि टेण्डरको प्रक्रियामा जानु भन्दा छिटो काम सम्पन्न हुने बताइन् । उनले पूर्व सचिवले ठाकुरले के प्रश्न उठाए भन्नेबारेमा आफू गम्भिर नभएको भन्दै आफूले सचिवका विषयमा मिडियामा केही पनि आधिकारिक रुपमा नबोलेको जानकारी दिइन् ।

उनले आफ्नो पहिलो प्राथमिकता सीएमसी प्लस मेलम्ची बराबर काठमाण्डौबासी भन्ने फर्मुलाका आधारमा काम गर्न खोज्दा त्यस अनुुसार नतिजा नआएका कारण सचिवको सरुवा गरिएको प्रष्ट पारिन् । उनले आफूलाई अन्य हिसावकिताव नआउने जानकारी दिदै केही मिडियामा मन्त्रीले १ अर्ब सीएमसीसँग लियो भन्ने समाचार छापेको भन्दै आश्चार्य जनाइन् ।

उनले भनिन् मेरो कार्यकालमा मेलम्चीले कति भुक्तानी लियो भनेर हेर्दा ८० करोड मात्र भुक्तानी लिएको भन्दै आफूले १ अर्ब लिएको विषय नियोजित रुपमा भनिएको दाबी गरिन् ।

मेलम्ची आयोजनाले बिगारेको बाटोको मर्मत सम्भार छिटो गर्ने र पाइप लाइन छिटो गर्ने काम भइरहेको उनले जानकारी दिइन् । उनले जलाधारको संरक्षण गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिदै बैसाखभित्र मेलम्चीको पानी आउने कुरा पूर्व सचिव गजेन्द्र ठाकुर र सीएमसी कम्पनीले बनाएको योजनाका आधारमै आफूले बोलेको बताइन् ।