Swornakshar Logo

गोंगबुमा १ लाख ५१ हजार नक्कली नोटसहित एक पक्राउ

२७ माघ, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका १० गणेशस्थानबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री छन् ।
महानगरीय प्रहरी प्रभाग, गोंगबुले उनलाई १ लाख ५२ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले भने, ‘१ सय ५२ थान हजार दरको नोट बरामद भएको छ ।’विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहाँ एउटा फ्ल्याटमा छापा मार्दा कुँवरको कोठामाबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठाबाट ११ थान नक्कली नोट भेटिएको थियो ।
हाल हिक्मत कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।

प्रारम्भिक अनुसन्धानले उनीहरु मेनपावर एजेन्ट भएको देखिउको छ । उनीहरुले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ ।

ती नोट बजारमा पुगेको हुनसक्ने आशंकामा प्रहरीले सर्वसाधारणलाई सचेत रहन समेत सुझाव दिएको छ ।

यसअघि काठमाडौं प्रहरी परिसरले कात्तिक अन्तिम साता चलाएको अपरेशनका क्रममा साढे दुई करोड रुपैयाँ नक्कली नोट बरामद भएको थियो । घटनामा चर्चित फिल्म निर्माता माधव वाग्ले समेत मुछिएका थिए ।