Swornakshar Logo

दाङको विकट गाउँमा भेटियो हतियार कारखाना, दुई जना पक्राउ

२० माघ । काठमाडौं । प्रहरीले दाङको विकट गाउँ राजपुर ७ भौवानामा हतियार बनाउने कारखाना भेटेको छ । बाँके र दाङको दक्षिणी सीमावर्ती क्षेत्रमा एक स्थानीयले घरमै हतियार बनाउने र मर्मत गर्ने गरेको प्रहरी बताएको छ ।

५ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीका अनुसार हतियार बनाउने कार्यमा संलग्न ५९ वर्षीय जीतबहादुर बुढा पक्राउ परेका छन् । साथै, सोही ठाउँबाट ३८ वर्षीय रूद्रमणि घर्तीलाई पनि एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बुढाको घरबाट ५ वटा भरुवा बन्दुक, एउटा १२ बोर र ३ वटा एयरगन राइफल, एकरएक वटा कटुवा पेस्तोल र रिभल्वर, १२ वटा सानो हतियारको नाल मजल र ठूलो हतियारको नाल २९ वटा बरामद भएको छ ।

उनको घरमा हतियार बनाउन प्रयोग हुने आरन मेसिन लगाएतका सामान भेटिएका प्रहरीले बताएको छ ।
‘विकट क्षेत्रमा घर भएकाले त्यहाँ जो कोही जान नसक्ने कुराको फाइदा उठाउँदै बुढाले धेरै पहिलादेखि हतियार बनाउँदै आएको रहेछ’, डिआईजी अधिकारीले अनलाइनखबरसँग भने, ‘घरेलु हतियार बनाउनेसँगै मर्मत गर्ने काम पनि गर्ने गरेको देखिएको छ ।’

हाल पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय, गढवामा राखिएको छ भने उनीहरुमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गरेर कारबाही गरिनेछ ।