Swornakshar Logo

भुवनहरि सिग्देलको संस्मरणात्मक कृति अदभुत तिवारी विमोचन

१२ माघ । काठमाडौं । साहित्यकार भुवनहरि सिग्देलको संस्मरणात्मक कृति अदभुत तिवारी काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक कार्यक्रमबीच सार्वजनिक भएको छ । कार्यक्रममा लेखक सिग्देलका दुई नातिनीहरूले पुस्तक बिमोचन गरेका छन् ।
पुस्तक सार्वजनिक गरिएलगत्तै कवि रेशम विरहीले अन्तरक्रिया सञ्चालन गरेका थिए । कार्यक्रममा प्रा. राजेन्द्र सुवेदी, साहित्यकार नारायण ढकाल, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र लेखक भुवनहरि सिग्देलबीच अन्तरक्रिया भएको थियो ।
प्रा. राजेन्द्र सुवेदीले भुवनहरी सिग्देलले अरुको संस्मरणमा आफ्नो व्यक्तिगत कथालाई मिश्रण गरेर राम्रो पुस्तक तयार पारेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले पुस्तकलाई गैरआख्यानात्मक औपन्यासिक कृति रहेको बताउनुभयो ।
साहित्यकार नारायण ढकालले भुवनहरि सिग्देलले काँठको साहित्यमा राम्रो छलाङ मारेको बताउनुभयो । उहाँले आफू पूर्वी उपत्यकाको काँठ र सिग्देल पश्चिम काँठमा रहेको बताउँदै संस्करण कुनै उपन्यासभन्दा कमी नभएको बताउनुभयो ।
निबन्धकार तथा पत्रकार दीपक सापकोटाले पुस्तकको रचनागर्भदेखि नै आफू परिचित रहेको बताउनुभयो । भुवनहरि सिग्देलको लेखाईबाट आफू निकै प्रभावित भएको बताउनु भयो ।
अन्तरक्रिया सञ्चालन गरेका साहित्यकार रेशम विरहीले भुवनहरि सिग्देल आफै अद्भुत लेखक भएकाले किताब पनि उद्भूत रहेको बताउनुभयो ।
लेखक सिग्देलले आफूले देखेका र बेहोरेका पात्रहरूसँगको सङ्गको सम्बन्धबाट संस्मरणात्मक कृति तयार पारेको बताउनुभयो । ३२५ मूल्य रहेको पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।